जनैपूर्णिमा अवसरमा दुप्चेश्वरमा विशेष मेला

काठमाडौँ। नुवाकोटस्थित प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर महादेव मन्दिर परिसरमा शनिबार विशेष मेला लाग्दैछ। सार्वजनिक बिदाको दिन अनि जनै पूर्णिमा पनि परेको हुनाले ठूलो संख्यामा श्रद्धालु भक्तजनको सहभागिता हुने भएको छ।

मेलाको तयारी लगभग पूरा भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। सरसफाइदेखि भक्तजनको सुविधाका लागि विभिन्न पूर्वतयारी गरिएको उनको भनाइ छ।

पशुपतिनाथ मन्दिरको अर्को रूप पनि मानिने दुप्चेश्वर महादेव मन्दिर पवित्र धार्मिक स्थल हो। विशेषगरी सन्तान नभएका दम्पतीहरू सन्तान माग्न र आफ्नो मनोकामना पूरा गर्नका लागि विश्वासका साथ यहाँ आउने गर्छन्।

उत्पत्तिबारे एउटा रोचक किंवदन्ती

मन्दिरको उत्पत्तिबारे एउटा रोचक किंवदन्ती छ। एक समय एक स्थानीयवासी वासु तामाङको गाई हरायो। गाई खोज्दा कतै नभेटिएपछि उनी निराश भई घर फर्के। सोही रात उनलाई सपनामा महादेवले दर्शन दिएर उनको गाई भिरको चट्टानमाथि रहेको बताए। महादेवले त्यहाँ नित्य पूजा र मेला लगाउन पनि भने।

अर्काे दिन, मंसिर चतुर्दशीको बिहान वासु तामाङ सपनामा बताएअनुसार भिरमा रुखको लहरा समातेर पुग्दा उनको गाईले चट्टानमा दूधको धारा बगाइरहेको देखे। यो दृश्य देखेर आश्चर्यचकित हुँदै उनले सो स्थानमा नित्य पूजा र मेला लगाउने संकल्प गरे।

त्यसपछि गाई आफैँ तल फर्कियो। गाईले दूध चढाएको हुनाले यस ठाउँको नाम दुग्देश्वर महादेव राखिएको मानिन्छ, जुन पछि अपभ्रंश भएर दुप्चेश्वर महादेव हुन गएको हो।

चट्टानमाथि धाम

दुप्चेश्वर धाम ७०० मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ। यस मन्दिरसम्म पुग्न फेदमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो सिँढीको प्रयोग गर्नुपर्छ। प्राकृतिक सौन्दर्यका बीच यो यात्रा रोमाञ्चक हुन्छ।

यो मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास रहेको छ। विशेषगरी सन्तान प्राप्तिको चाहना राख्ने दम्पतीहरू यहाँ आउने गर्छन्। महादेवको कृपाले मनोकामना पूरा हुने जनविश्वास छ।

हरेक वर्ष धान्य पूर्णिमाका अवसरमा यहाँ एक हप्तासम्म विशेष मेला लाग्छ। यसका साथै शिवरात्री, साउन महिना, र हरेक सोमबार र शनिबार पनि यहाँ मेला लाग्ने गर्छ। मेलामा तामाङ, शेर्पा, ब्राह्मण, क्षेत्री लगायत विभिन्न जातिको परम्परागत संस्कृतिको प्रदर्शन हेर्न पाइन्छ।

हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थ

दुप्चेश्वर महादेव मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा तीर्थस्थलको रूपमा विकसित भइरहेको छ। साउन महिनामा भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा अनुसार, साउनको तेस्रो सोमबार मात्रै करिब १२ हजार भक्तजनले मन्दिरमा दर्शन गरेका छन्।

दैनिक हजारौं भक्तजनको आगमनले यस मन्दिरको बढ्दो लोकप्रियता पुष्टि गर्छ। नेपाल, भारत, भुटान र वर्मा जस्ता देशबाट समेत तीर्थालुहरू यहाँ आउने गरेका छन्। यहाँ विशेषगरी गाईको दूध र पशुचौपायाको दाम्लो चढाउने चलन छ।

साउनको तेस्रो सोमबार मात्रै मन्दिरमा ३ लाख ८३ हजार ४ सय १७ रुपैयाँ भेटी संकलन भएको छ। यसमध्ये क्यूआर कोडमार्फत ११ हजार २ सय ४२ रुपैयाँ संकलन भएको कोषका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए।

दैनिक साँझ ५ बजे सामूहिक रूपमा भेटी गणना गरिन्छ। भक्तजनको संख्या र भेटी संकलन बढेसँगै मन्दिरको उचित व्यवस्थापनमा दुप्चेश्वर क्षेत्र विकास कोष र गाउँपालिका कार्यालय सक्रिय छन्।

दुप्चेश्वर महादेव धामले दर्शन गर्न आउने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेष वैकल्पिक मार्गको व्यवस्था गरेको छ। यसले गर्दा कुनै पनि भक्तजनलाई दर्शन गर्न कुनै बाधा नपरोस् भन्ने सुनिश्चित गरिएको छ। भजन मण्डलीसँग सम्पर्क गरेर यो सुविधा प्रयोग गर्न सकिन्छ।

कसरी पुग्ने?

काठमाडौँको सामाखुसीबाट करिब ७४ किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा सामाखुसी–टोखाछहरे मार्ग हुँदै पुग्न सकिन्छ। यो सबैभन्दा छोटो र सजिलो बाटो हो। यो बाटोबाट करिब साढे दुई घण्टामा दुप्चेश्वर महादेव मन्दिर पुग्न सकिन्छ।

यस धाम क्षेत्रमा आउँदा केही जानकारी, सहयोग आवश्यक भए वा कुनै समस्या परेको अवस्थमा यो 984-3479396 नम्बरमा सम्पर्क गर्न सकिने कोषाध्यक्ष श्रेष्ठको सुझाव छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *