निजी विद्यालयका संस्थापकको कुटाइले विद्यार्थी बेहोस
सांकेतिक फोटो
विराटनगर। सिराहाको एक निजी विद्यालयमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई कुटपिट गरिएको घटना बाहिरिएको छ। कुटपिटबाट गम्भीर घाइते भएका १४ वर्षीय अतिनेश कुमार यादवलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल ल्याइएको छ।
नरहा गाउँपालिका–३ चोहर्वास्थित सिरहा पब्लिक स्कुलका संस्थापक रामप्रकाश यादवले उनलाई कुटपिट गरेको अभिभावकले जनाएका छन्।
आइतबारमात्रै विद्यालयको होस्टेलमा भर्ना भएका अतिनेशलाई सोमबार बेलुका होस्टेलको ‘रिङ’ मा समयमा नआएको निहुँमा कुटपिट गरिएको उनका बुबा रामवृक्ष यादवले जानकारी दिए। उनका अनुसार अतिनेशलाई लाठी, जुत्ता र मुक्काले हिर्काइएको थियो।
कुटपिटपछि बेहोस भएका अतिनेशलाई विद्यालयका संस्थापकले पीडितका भिनाजुलाई बोलाएर ‘आफैँ बेहोस भएको’ भन्दै उपचारका लागि पठाएको आरोप छ।
प्रारम्भिक उपचारका लागि चोहर्वास्थित एक निजी क्लिनिक र त्यसपछि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगर रेफर गरिएपछि अहिले उनको न्यूरो अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको घाँटीमा गम्भीर चोट लागेको छ। यस घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
