आज केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर। देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज बुधबार कोशीसहित केही प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा अवस्थित छ।

यसको प्रभावले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा बादल लागेको छ। मधेश प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भूभागमा केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा भने भारी वर्षाको सम्भावना पनि छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एकदुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना पनि छ।

मनसुन सक्रिय रहेकाले कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने हुँदा दैनिक जीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *