असोजदेखि ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

काठमाडौं । सरकारले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै अब यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी वा नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट नभई कुनै पनि प्रक्रिया अगाडि बढ्ने छैन।

बैठकले स्मार्ट लाइसेन्सको छपाइमा देखिएको ढिलाइप्रति पनि चासो देखाएको छ। यसअघि जेठ ९ गते सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार असार मसान्तसम्ममा छपाइ सुरु गर्नुपर्ने भए पनि काम सुरु नभएकाले भदौ मसान्तभित्रै छपाइ सुरु गर्न केन्द्रलाई निर्देशन दिइएको छ।

यसबाहेक, बैठकले सवारी चालक अनुमतिपत्रको म्याद १० वर्ष कायम गर्ने, यात्रु र चालकबीच हुने कारोबारलाई डिजिटल प्रणालीमा लैजाने, तथा राइड सेयरिङ सेवाको नीति र कार्यविधिमा एकरूपता कायम गर्ने जस्ता महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।

मन्त्री दाहालले यी निर्णयहरू समयमै कार्यान्वयन भए संघीयता बलियो हुने र नागरिकले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *