राप्रपा विवाद : नेतृत्वको स्वेच्छाचारी निर्णयको विरोध

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी नेतृत्वको पछिल्ला गतिविधिप्रति तीव्र असन्तुष्टि जनाएका छन्। अध्यक्षलाई पत्र लेख्दै उनले विधान मिचेर गरिएका स्वेच्छाचारी निर्णयहरू, नेताहरूमाथि गरिएको कारबाही तथा निष्कासन र युवा नेतामाथि भौतिक आक्रमणको निन्दा गरेका छन्।

उनले यी सबै गल्तीहरू तत्काल सच्याउन र कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेका छन्।

राणाले पत्रमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार महाधिवेशन समयमै सम्पन्न गर्ने सन्दर्भमा स्थानीय तहमा अधिवेशनको क्रम जारी रहेको र केन्द्रीय महाधिवेशन समयमै पूरा गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरेका छन्।

उनले जिल्ला अधिवेशनको समयसीमा तोकिएको अवस्थामा स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको स्मरण गराएका छन्।

महामन्त्री राणाले पार्टी एकता र हितविपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा नेताहरूलाई कारबाही र निष्कासन गरिनु दुखद र निन्दनीय भएको बताएका छन्। उनले पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्तीहरू अनिवार्य सच्याउनुपर्नेमा जोड दिएका छन्।

पत्रमा पार्टीका प्रदेशसभा उम्मेद्वार, पत्रकार एवं युवा नेता राजु गैरेलाई अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुखद र निन्दनीय भएको उल्लेख छ। राणाले पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरिका कार्यकर्ता र शुभचिन्तकहरू चिन्तित रहेको बताएका छन्।

उनले फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक भएको र सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु युग सुहाउँदो विधि र अभ्यास भएको बताएका छन्।

जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएकोमा सो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल नगरी एकलौटी किसिमले नामहरू तोकिएको राणाको आरोप छ। उनले यो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण भएको उल्लेख गरेका छन्।

अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरू सर्वसम्मत रूपमा समझदारी गरेर पठाउनुपर्नेमा उपेक्षा गरी एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य भएको राणाले जिकिर गरेका छन्। उनले प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरू समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटिपूर्ण भएको र यो व्यक्ति विशेषसँग सम्बन्धित नभएर प्रक्रियागत त्रुटि सच्याउने विषय भएको स्पष्ट पारेका छन्।

महामन्त्री राणाले निष्पक्ष, मर्यादित र सबैको सहभागितामा महाधिवेशन हुनुपर्छ भन्नेमा आफूहरूले विश्वास राख्ने बताएका छन्। तर, पछिल्ला निर्णयहरूबाट देशभरिका कार्यकर्ताहरू चिन्तित र सशंकित रहेको भन्दै यी तमाम समस्या समाधानका लागि अविलम्ब कार्यसम्पादन समितिको बैठक बोलाउन अध्यक्षलाई अनुरोध गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *