शिक्षा दिवस : उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी र कर्मचारी खोजी

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तको अध्यक्षतामा बसेको राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको शिक्षा दिवसलाई भव्य ढंगले मनाउने निर्णय गरेको छ। यस वर्षको कार्यक्रममा केही वर्षदेखि रोकिएको विद्याभूषण पदक पनि वितरण गरिने भएको छ।

बैठकमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता पौड्याल अधिकारी, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूलगायत शिक्षा क्षेत्रका अगुवाहरूको बाक्लो उपस्थिति थियो।

शिक्षा सचिव चूडामणि पौडेलले दिवसलाई अविस्मरणीय बनाउन मूल समारोह समिति गठन गरिएको र विभिन्न उपसमितिहरूलाई जिम्मेवारी तोकिएको जानकारी दिए। विद्यालय शिक्षा महाशाखा प्रमुख रुद्र प्रसाद अधिकारीले कार्यक्रमको विस्तृत खाका प्रस्तुत गरे।

बैठकमा शिक्षा दिवस मनाउन विभिन्न निकायहरूसँग समन्वय गर्ने र उपसमितिहरूको भूमिकाबारे गहन छलफल भयो। शिक्षा सचिवले सबैलाई आ–आफ्नै तरिकाले रचनात्मक कार्यक्रमहरू आयोजना गर्न आह्वान गर्दै उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी र क्याम्पस छनोटका लागि तयारी थाल्न निर्देशन दिए। साथै, स्मारिका प्रकाशनका लागि सामग्री उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

मन्त्री पन्तले शिक्षाका विषयमा बहस र छलफलका कार्यक्रमहरू आयोजना गर्नुपर्नेमा जोड दिए। उनले विभिन्न संघ–संगठनहरूलाई पनि यस दिवसमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै विद्यार्थी, शिक्षक र अभिभावकबीच शिक्षाको महत्वबारे गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरे।

बैठकका सहभागीहरूले यस वर्षको शिक्षा दिवसलाई सफल बनाउन प्रतिबद्धता व्यक्त गरे। शिक्षा सचिवले गत वर्षको नारा ‘ज्ञान, विज्ञान, सिप, उद्यम, मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ लाई निरन्तरता दिँदै यस वर्षको दिवसलाई थप नविन र आकर्षक बनाउन कार्यतालिका बनाएर अघि बढ्न निर्देशन दिए।

उनले पुरस्कार वितरणका मापदण्ड र आधारहरूमा विशेष ध्यान दिनुपर्ने, विद्याभूषणका लागि नयाँ मापदण्ड तोक्नुपर्ने र कार्यक्रमको समग्र मोडालिटी मन्त्रालयले निर्धारण गर्ने स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *