कतै हल्का, कतै मध्यम वर्षा
विराटनगर। मनसुनी वायुको प्रभाव कायमै रहँदा देशका अधिकांश स्थानमा मौसम बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार शनिबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
अरू प्रदेशका एकदुई ठाउँमा पनि हल्का पानी परिरहेको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानकै आसपास रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भेगका धेरै ठाउँमा र तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई ठाउँमा भारी वर्षा पनि हुन सक्छ।
आज राति धेरै प्रदेशहरूमा र अन्य केही ठाउँमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
