लेखनको आत्मिक अनुभूति

लेखकका लागि आफ्ना सिर्जनाहरूमाथि गरिने इमान्दार समीक्षा सधैँ एउटा अमूल्य उपहार हुन्छ। यो कुनै प्रशंसाको भोक मात्र होइन, बरु आफ्ना शब्दहरूले पाठकको मनमा कस्तो प्रभाव पार्यो र ती कति दूरसम्म पुग्न सके भनी जान्ने कौतुहलता पनि हो। वास्तवमा शब्दको स्पर्श र लेखकको यात्रा एक आत्मिक अनुभूतिको अभिलेखन हो।

यही कौतुहलता र आत्मसमीक्षाको भावना लिएर मैले सिक्किमबाट प्रकाशित हुँदै आएको प्रतिष्ठित पत्रिका ‘हिमाली बेला’ मा आफ्नो निबन्ध सङ्ग्रह ‘अर्धकदको अवसान’ माथि सिन्धिया श्रेष्ठले लेखेको समीक्षात्मक आलेख ‘विवश विचारको आवाज’ पढ्न पाएँ। यसले मेरो मन हर्षित हुनु स्वाभाविक हो।

सिन्धियाजीले मेरा निबन्धहरूमाथि व्यक्त गरेका भावनाहरूले मेरो लेखक मनलाई गहिरोसँग स्पर्श गर्‍यो। उहाँले लेख्नुभएका यी शब्दहरू– “यस सङ्ग्रहमा सङ्गृहित निबन्धहरू पढ्दा लाग्छ विवश भावनालाई शब्दमा ढाल्न माहिर छन्। विवशका शब्दहरूले ती सबै भावनाहरूको प्रतिनिधित्व गर्छन् जुन कहिल्यै कुनै अक्षरमा अटाएनन्।”

यी साँच्चै सुन्दर छन्। यी शब्दहरूले मेरा भावनालाई पूर्ण रूपमा आत्मसात गर्न सकेका छन् भन्ने लाग्छ। लेखकले आफ्नो मनको गहिराइबाट व्यक्त गर्न खोजेका अव्यक्त कुराहरूलाई जब पाठकले बुझिदिन्छ, त्यो नै ठूलो सन्तुष्टि हो। मेरा शब्दहरूले त्यस्ता अनेक भावनाहरूलाई प्रतिनिधित्व गर्न सकेका रहेछन् भन्ने कुराले मलाई अझ लेख्न प्रोत्साहित गरेको छ।

त्यसैगरी, उहाँले मेरा निबन्धहरूको गहनतालाई चिन्दै लेख्नुभएको थियो– “निबन्धमा गहन, गम्भीर, दार्शनिक वाक्यहरू थुप्रै छन्। लेखक सतही जीवनभन्दा धेरै माथि उठेका छन्।” यो भनाइले मलाई आफ्नो लेखनको उद्देश्यमा अझ बढी विश्वास दिलायो। मेरो प्रयास सधैँ सतही कुराहरूभन्दा माथि उठेर जीवन, समाज र अस्तित्वका गहिरा पाटाहरूलाई केलाउने रहँदै आएको छ। सिन्धियाजीको यो समीक्षात्मक अवलोकनले मेरो त्यो प्रयास सार्थक रहेको प्रमाणित गर्‍यो।

समीक्षा भनेको केवल प्रशंसा मात्र होइन, यो त लेखकलाई थप परिष्कृत बनाउने एक महत्त्वपूर्ण मार्गदर्शक पनि बन्न सक्नुपर्छ। सिन्धियाजीले मेरा लागि केही महत्त्वपूर्ण मार्गनिर्देशन पनि दिनुभएको छ। ती कुरा मैले मनन र महसुस गरेको छु।

उहाँ लेख्नुहुन्छ– “निबन्धमा प्रयोग भएका छोटा अधुरा बिम्बात्मक वाक्यहरूले गहिरो अर्थ दिन्छन्। तर कहिलेकाहीँ यस्तो अत्यधिक रूपक र अधूरा वाक्यहरूको प्रयोगले पाठकलाई थकित वा अन्योलमा पार्न सक्छ। एकपछि अर्को निबन्धहरू पढ्दै जाँदा पाठकलाई विषयवस्तु दोहोरिएजस्तो पनि लाग्न सक्छ। आगामी लेखहरूमा भावनात्मक गहिराइलाई कायम राख्दै, वाक्य संरचनालाई अझ स्पष्ट, सरल र पूर्ण बनाउन सकेमा पाठकसँग अझ सशक्त रूपमा संवाद गर्न सफल हुनेछन् विवश।”

उल्लिखित शब्दहरू मेरा लागि अमूल्य सुझाव हुन्। रचनात्मक यात्रामा कहिलेकाहीँ लेखक आफ्नै शैलीमा यति निर्लिप्त हुन्छ कि पाठकको सहजतालाई बिर्सिन सक्छ। विम्ब र गहिराइको खोजीमा कतै मैले पाठकलाई बोझिलो त बनाइरहेको छैन भन्ने प्रश्नले अब मलाई सधैँ डोर्‍याउनेछ। आगामी दिनमा मैले आफ्ना भावनाको धरातल मनन गर्नुपर्नेछ। साथै सतह र गहिराइलाई कायम राख्दै वाक्य संरचनालाई अझ स्पष्ट र पूर्ण बनाउने प्रयत्न पनि। अन्ततः यसले पाठकहरूसँग मेरो संवाद अझ सशक्त बनोस्।

समीक्षात्मक अभिव्यक्तिको अन्त्यमा सिन्धियाजीले व्यक्त गर्नुभएका यी शुभकामनाका शब्दहरूले पनि मेरो लेखक मनलाई भित्रैसम्म स्पर्श गरेको छ र यसले म प्रोत्साहित पनि भएको छु।

समीक्षक सिन्धिया श्रेष्ठ लेख्नुहुन्छ– “उहाँको लेखनीमा देखिने अनुभूति, जीवनदर्शन र विचारशीलता साँच्चिकै प्रशंसनीय छ। उहाँको साहित्यिक यात्रा उज्यालो होस्, शब्दहरू अझै सजीव बनुन् र धेरै पाठकहरूको मनमा प्रभुत्व जमाउन सकून्, यो मेरो हार्दिक शुभकामना।”

यस्ता शब्दहरूले कुनै पनि लेखकलाई अझ राम्रो लेख्न, अझ गहिरो सोच्न र आफ्ना शब्दहरूलाई अझ सजीव बनाउन प्रेरित गर्छन्। यो हार्दिक शुभकामना मेरा लागि एउटा ऊर्जाको स्रोत बनेको छ।

उहाँको यस समीक्षात्मक आलेखले मलाई आफ्नो लेखन यात्रामा अझ सचेत र जिम्मेवार भएर अगाडि बढ्न प्रेरणा दिएको छ। मेरो लेखनका निम्ति यति गहकिलो र आत्मिक समीक्षात्मक अनुभूतिको लागि म सिन्धिया श्रेष्ठप्रति हार्दिक धन्यवाद ज्ञापन गर्छु। सिन्धियाजीले मेरा लागि केही महत्त्वपूर्ण मार्गनिर्देशन दिनुभएको प्रति पनि हार्दिक कृतज्ञता निवेदित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *