‘शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धा’
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै नेपालका १६ विद्यार्थी संगठनहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। दलनिकट यी संगठनहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै शिक्षक नियुक्ति प्रक्रियादेखि निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनसम्मका मागहरू अघि सारेका छन्।
उनीहरूले विद्यालय शिक्षकको नियुक्ति प्रक्रिया शतप्रतिशत खुला प्रतिस्पर्धामा आधारित र समावेशी हुनुपर्ने माग अघि सारेका छन्। यसबाट गुणस्तरीय शिक्षाका लागि योग्य र सक्षम शिक्षकहरूको छनोट सुनिश्चित हुने उनीहरूको विश्वास छ।
सरकारले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्दा विद्यार्थीका मुद्दाहरू ओझेलमा परेको विद्यार्थी संगठनहरूको आरोप छ। विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
संविधानको धारा ३१ मा व्यवस्था भएबमोजिम माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था तत्काल लागू गर्न पनि विद्यार्थी संगठनहरूले माग गरेका छन्। यसका साथै, शिक्षा ऐन, २०२८ अनुसार सबै प्रकारका शिक्षक र कर्मचारीहरूको व्यवस्थापनको दायित्व राज्यले नै लिनुपर्ने निचोडमा उनीहरू पुगेका छन्।
हाल छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमाथि थप छलफलका लागि विद्यार्थी संगठनहरूलाई समेत सहभागिता गराउनुपर्ने माग उनीहरूको छ। शैक्षिक नीति निर्माणमा विद्यार्थीको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
यसैगरी, त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूको ऐनमा व्यवस्था भएअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) वा कल्याण परिषद्को निर्वाचन गराउन पनि १६ विद्यार्थी संगठनले माग गरेका छन्। लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विश्वविद्यालयहरूको लोकतान्त्रिक प्रक्रियामा बाधा पुगेको उनीहरूको तर्क छ।
यस्तो माग गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने संगठनहरू
नेपाल विद्यार्थी संघ: दुजाङ शेर्पा (अध्यक्ष)
अनेरास्ववियु: डा. सुजन कँडेल (अध्यक्ष)
अखिल (क्रान्तिकारी): विजय प्रकाश शर्मा सापकोटा (अध्यक्ष)
अनेरास्ववियु: महेश श्रेष्ठ (अध्यक्ष)
राप्रनिस (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन): कमल बम रजवार (केन्द्रीय संयोजक)
अखिल (समाजवादी): नरेन्द्र सी (अध्यक्ष)
समाजवादी विद्यार्थी युनियन, नेपाल: मनिष कुमार यादव (अध्यक्ष)
अखिल (क्रान्तिकारी): बिरेन्द्र शाह (अध्यक्ष)
अखिल (छैटौं): सुवाश जि.सी. (अध्यक्ष)
अखिल (क्रान्तिकारी): महेश श्रेष्ठ (केन्द्रीय संयोजक)
विद्यार्थी जनमत संघ: पोषण यादव (केन्द्रीय संयोजक)
नयाँ शक्ति विद्यार्थी युनियन: बलबहादुर रानोदल (अध्यक्ष)
वैज्ञानिक समाजवादी विद्यार्थी संगठन: हिमांशु (अध्यक्ष)
अखिल (पाँचौं): पवित्रा आचार्य (अध्यक्ष)
राष्ट्रिय विद्यार्थी मञ्च: पंकज देव (अध्यक्ष)
अखिल नेपाल विद्यार्थी युनियन: मिनिश भट्टराई (अध्यक्ष)

