विराटनगरका शैलेश भट्टराई दुई दिनदेखि सम्पर्कविहीन
विराटनगर। विराटनगरको पोखरियाका शैलेश भट्टराई दुई दिनदेखि सम्पर्कविहीन बनेका छन्। बुधबार काठमाडौँको सामाखुसीबाट बानेश्वरस्थित कार्यालय जाने भनेर हिँडेका उनी बिहीबार साँझसम्म परिवारको सम्पर्कमा छैनन्।
५० वर्षीय भट्टराई परिवारसँग बस्दै आएका थिए। विराटनगर महानगरपालिका–१ पोखरियाका मूल बासिन्दा उनी सम्पर्कविहीन बनेपछि परिवारले प्रहरीमा निवेदन दिएर खोजीका लागि आग्रह गरेका छन्।
कार्यालय, आफन्त र साथीभाइतिर सोधखोज गर्दा पनि केही पत्तो नलागेपछि उनकी श्रीमती रश्मि शर्मा भट्टराईले महाराजगञ्जस्थित प्रहरी वृत्तमा खोजी गरिपाउँ भनेर निवेदन दिएकी छन्। उनले प्रयोग गर्ने गरेको मोबाइल फोन बुधबार साँझदेखि ‘अफ’ छ।
प्रहरीले उनको खोजी भइरहेको जनाएको छ। विभिन्न क्षेत्रका प्रहरी कार्यालयहरुमा उनको हुलियासहित प्रहरीले खोजीका लागि पहल गरिरहेको छ।
प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरन्जन थापाका अनुसार खोजी भइरहे पनि बिहीबार साँझसम्म भट्टराईबारे केही ठोस जानकारी आएको छैन।
