सरकारको कार्यशैली र पार्टीको आन्तरिक लोकतन्त्रप्रति कोइराला असन्तुष्ट

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर प्रश्न उठाएका छन्।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे। संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको र यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनिएको कमिटीसमेत एक महिना बितिसक्दा पनि गठन हुन नसकेको उनको भनाइ थियो।

उनले लिची बगान घुस प्रकरणमा एक मन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्ग जोड्दै राजनीतिमा नैतिकताको अपरिहार्यतामा जोड दिए। ‘नैतिकता बिनाको राजनीति हामीले गर्न थाल्यौं भने राजनीति धरापमा पर्छ’ कोइरालाले भने।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख गरी छ जना वरिष्ठ व्यक्तिहरू हुने व्यवस्था रहेकोमा अध्यादेशमार्फत दुई वा तीन जनाले मात्रै निर्णय गर्न सक्ने गरी आएको प्रावधानलाई उनले खतरनाक भने। राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएको विषयमा पनि उनले गम्भीर चासो व्यक्त गरे।

डा. कोइरालाले हालै पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँगको भेटघाटलाई कुनै नयाँ कुरा नभएको जिकिर गरे।

‘हामी राजनीति गर्दैछौं। म नेपाली कांग्रेसमा छु, कोही एमालेमा होला, कोही माओवादीमा होला, कोही अन्य दलमा होला। हामीले भेट गरिरहनुपर्छ’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *