एक दम्पतीसँगको संवाद

[मैले सुनेँ, सुन्दै आएँ ती दम्पतीका बिच कहिल्यै झगडा हुँदैन । उनीहरू जहिले पनि हँसमुख रहेका हुन्छन् । तिनका बालबच्चा पनि जस्तो हुनुपर्ने हो, त्यस्तै छन् । उनीहरू सैद्धान्तिक पढाइमा मात्र होइन, व्यावहारिक जीवनमा पनि अब्बल छन् । धेरै जनाले धेरै पटक यस्तो कुरा सुनाएपछि मलाई तिनलाई भेट्ने इच्छा जागेर आयो । कसरी उनीहरूको परिवार मात्र त्यस्तो भयो ? उनीहरूसँगैका छिमेकीहरूका बारेमा ता कसैले पनि उल्लेख्य कुरो केही पनि सुनाएको छैन । अत: एकदिन समय मिलाएर ती दम्पतीलाई भेट्न म उनीहरूका घरमा पुगेँ । पतिको पहिलो सोधनीबाट हाम्रो संवाद सुरु भयो ।]

पति : यहाँलाई त मैले चिन्न सकिनँ, बिर्सेको पनि हुन सक्छु । यहाँ कहाँबाट पाल्नुभएको होला ?

म : मेरो घर देउमाई नगरपालिका, वडा नं. ९, लिङदिङ हो । मेरो नाम जयप्रसाद शर्मा आचार्य हो । त्यहाँबाट यहाँ ( सिद्धिथुम्का) आइपुग्न ठ्याक्कै अढाई घण्टा लाग्यो मलाई ।

पत्नी : ए, यहाँको घर नवमीदेखि अलि तल ता रहेछ नि । त्यहाँका डाँडाघरे आचार्यहरू मेरा माइतीखाल हुन् ।

म: ए, त्यसो भए त म पनि यहाँको माइती नै परेँछु कि क्या हो !

पत्नी : माइती परिहाल्नुभयो नि । चेलीलाई कोसेली ल्याउन भ्याउनुभयो कि भएन कुन्नि ! ( हाँस्छिन् )

म : अहिले नल्याए पनि अबदेखि आउँदा ल्याउँला नि ।

पति : कुरो बरालिन लागेजस्तो भयो । यहाँ के कति कामले पाल्नुभएको थियो कुन्नि !

म : म यहाँहरूको नामसुवास धेरै पहिलेदेखि सुन्दै आउँदै छु । यहाँहरूलाई चिन्ने र मन सफा भएकाहरू यहाँहरूको परिवारलाई आदर्श परिवार भन्दा रहेछन् । म एउटा पत्रकार पनि भएकाले यसको रहस्य जन जनमा पुर्‍याउन मन लाग्यो र आएको, सर ।

पति : यहाँलाई धन्यवाद । हामीले त्यस्तो विशेष काम केही पनि गरेका छैनौँ र त्यस्तो नियोजित विशेष काम गर्नुपर्ने आवश्यकता पनि ठान्दैनौँ । एउटा कुरा केचाहिँ हो भने हामी आआफ्ना ब्रह्मले देखेका कुरालाई साझा बनाउँछौँ र तिनलाई व्यवहारमा ल्याउँछौँ । आआफ्नै पाराले परिवारका सदस्यहरू चल्न थाले भने परिवार दुर्घटित हुन पुग्छ भन्ने कुरालाई हाम्रो परिवारले राम्ररी आत्मसात् गर्न सकेको छ । मानिसहरूले परिणाम मात्र देखेका हुन सक्छन्, कारण तिनलाई थाहा नहुन पनि सक्छ ।

पत्नी : मुख्य कुरा आपसी विश्वास नै रहेछ । त्यस विश्वासलाई अटल रूपले कायम राख्न सकियो भने त्यसले अधिक सन्तुष्टि दिन सक्तो रहेछ । ( त्यसैबेला १० वर्ष जतिकी छोरी र ६ वर्षको जस्तो लाग्ने छोरो मसामु आएर सवचन नमस्कार गर्छन्, छोराले मातापितालाई पस्रेर ढोग्छ भने छोरीले पनि झुकेर नमस्कार गर्छिन् ।)

म : बाबुहरू कहाँ कति कतिमा पढ्ने हो ?

छोरी : भाइ र म दुवै जना खान्द्रुङ माध्यमिक विद्यालय, सिद्धिथुम्कामा पढ्छौँ । ऊ कक्षा १ मा र म ५ मा पढ्छौँ ।

म : धेरै अभिवाकहरू त आफ्ना नानीहरूलाई संस्थागत विद्यालयमा पढाउन इच्छुक देखिन्छन् । माथिल्ला कक्षामा सरकारी विद्यालयमा पढाउनेहरू पनि तल्ला कक्षामा बोर्डिङमै पढाउन मन गर्छन् । हजुरहरूले चाहिँ त्यसो गर्नुभएनछ नि ?

पति : यस कुरामा केही कुरा कारकका रूपमा देखिए । ती कुरा के हुन् भने बोर्डिङमा एकातिर पाठ्‌यसामग्रीकाे अकल्पनीय भारी बोकाउने गरेको देखियो । यसको परिणाम भयो, दिनरात पढाइमा मात्र घाेट्‌टिइरहनु । फेरि अहिले मोबाइल साराका सारा अर्थात् बालक, युवा र वृद्धको नछोडिने मित्र बनेको छ । एकातिर बच्चाहरू मोबाइलमा नखेली सक्तैनन् भने त्यसको परिणाम भइदिन्छ : विद्यालयले चाहेजसरी गृहकार्य गर्न नसक्नु, मरीतरी गृहकार्य गरिहाले पनि पाठ्यपुस्तक अपेक्षित ढङ्‌गबाट अध्ययन गर्न नसक्नु, परीक्षाहरूमा राम्रैगरी लेखे पनि परीक्षा सकिएपछि त्यो ज्ञान पनि सँगै सकिनु । अर्कातिर अर्को अझ डरलाग्दो कुरा त के हो भने बच्चाहरू पूर्णरूपमा एकलकाटे बन्नु । घरमा को आयो, को गयो, त्यो मान्छे कति पटक आयो, ऊ के सम्बन्धको मानिस हो, आगन्तुकहरूसँग कसरी बोल्ने आदिजस्ता कुरामा कतिपय बच्चाहरू साह्रै पछि परेको देख्यौँ र हामीले चाहिँ यिनलाई सामुदायिक विद्यालयमा नै पढाउने निर्णय गर्‍यौँ । खोइ, राम्ररी नै पढिरहेका छन् । घरमा हामीलाई पनि आफ्नो उमेरअनुसारका काम सघाइरहेका छन् । यिनलाई सामाजिकीकरण गर्ने कुरामा हामी सधैँ सजग र सचेष्ट छौँ ।

म : अनि घरमा यिनीहरूको दैनिकीचाहिँ कस्तो छ नि ?

पत्नी : हामी सबै सधैँ बिहान ४ बजे नै उठ्छौँ । मौसम ठिक रहेका बेला सडकमा र पानीझरी परेका बेला घरकै कोठामा कम्तीमा आधा घण्टा हिँड्ने गर्छौँ । यो काम सकिएपछि बच्चाहरू केही हल्का व्यायाम गर्छन् भने हामीचाहिँ जीवनविज्ञानले निर्दिष्ट गरेबमोजिमका योगाभ्यास गर्छौँ । बिहानको खाजा खाएपछि बच्चाहरू ९ बजेसम्म घरमा अध्ययन गर्नका लागि बनाइएको रुटिनअनुसार पढ्छन् । बेलुका ४:१५ तिर उनीहरू घर आइपुग्छन् । त्यसपछि खाजा खाएर उनीहरू ५:१५ सम्म मोबाइल वा टिभी हेर्छन् । हामी ७ बजेभित्रमा बेलुकाको खाना खाइसक्छौँ । त्यसपछि हामी कम्तीमा १५ मिनेट बज्रासनमा बस्छौँ । यसोउसो गर्दागर्दै ८ बज्छ । अब बच्चाहरू ८ बजेदेखि १० बजेसम्म गृहकार्य र अध्ययन गर्ने गर्छन् । यसरी नै उनीहरूको दिनचर्या चल्ने गरेको छ । बिदाका दिनमा भने उनीहरूलाई कहीँ न कहीँ लिएर जाने गरेका छौँ । उनीहरू सधैँ खुसी नै देखिन्छन् ।

म : अनि अतिरिक्त क्रियाकलापमा चाहिँ यिनीहरूको कस्तो छ ?

पति : दिदी चित्र बनाउने, गाउने, बजाउने, वक्तृत्वकलामा अभ्यास गर्ने, गाउँका केही साथीहरूसँग मिलेर क्रिकेट खेल्ने आदिमा बढी रुचि राख्छिन् भने भाइ पनि चित्र बनाउन र गाउन राम्रै अभ्यास गरिरहेको छ ।

पत्नी : छोरीलाई खाना बनाउन पनि राम्ररी नै आउँछ । आफ्ना र भाइका कपडा आफैँ धुन्छिन् । भाइ कपडा पखाल्न दिदीलाई सघाउँछ । आफूले खाना खाएका थालबटुका पनि आफैँ माझ्छन् । यिनीहरू जङ्क फुड खान पटक्कै मन पराउँदैनन् । चना, भटमास, मकै, मटरदाना, काजु, पास्ता, ओखर मिसाएर बनाइएको सातु नै यिनीहरूको मुख्य खाजा हो । सागबिनाको खाना एकछाक पनि हुँदैन । भए गोरस पनि खान्छन्, नहुँदा त्यसमा मरिहत्ते गर्दैनन् । हामीले मुख्य ख्याल गर्ने भनेको उनीहरूले प्राप्त गर्नुपर्ने क्यालोरीको मात्रा हो । सबै कुरा ठिकै छ ।

म : नानीहरूका बारेमा धेरै कुरा बोलियो । म ता मुख्य कुरातिर आएकै छुइनँ ।

पति : भन्नू न ।

म : सुरुमा पनि अलिकति भनेँ, यहाँहरूको परिवारलाई समाजले आदर्श परिवार भनेर नै चिनेको रहेछ । यसको कारण आपसी विश्वास हो भन्ने कुरा पनि आयो । अझै मलाई त्यो आपसी विश्वासका बारेमा थप प्रस्ट पारिदिनुभए आभारी हुने थिएँ ।

पत्नी : मैले माइतैमा हुँदादेखि के बुझेकी थिएँ भने पति र पत्नीका बिच कुनै पनि कुरा लुकाइने हुनु हुँदैन । दुवै सधैँ खुला किताब हुनुपर्छ बोलीमा मात्र होइन, सम्पूर्ण व्यवहारमा पनि । एकले अर्कालाई लुकाई छिपाई कुनै काम गर्दै नगर्ने भएपछि विश्वासै विश्वास भइगयो । त्यसको प्रभाव बच्चाहरूमा पनि पर्ने नै भयो । हामी के कुरामा १००% विश्वस्त छौँ भने बच्चाहरू आमाबाबु र गुरुका शब्दमा भन्दा उनीहरूका आचरणमा बढी विश्वास गर्छन् र आफ्नो जीवनमा पनि सोही आचरण लागु गर्ने गर्दछन् । त्यसैले हामीले खाने, बोल्ने, गर्ने आदि सबै कुरामा पारदर्शिता रहने गरेको छ । हामी अरूलाई बोलीले नसिकाई हाम्रो आचरणबाट सिकुन् भन्ने चाहन्छौँ । त्यसैले हामीलाई गलत बोलीवचन गर्ने छुट नै छैन किनभने हामी यही समाजका उपज हौँ र यस समाजको अग्रगतिका लागि हाम्रो पनि अधिकतम योगदान रहनुपर्छ भन्ने कुरामा हामी एकदमै स्पष्ट छौँ । + कति गर्न सकिन्छ, गर्छौँ, – चाहिँ जानी जानी हामी कहिल्यै पनि गर्दैनौँ भन्ने हामीलाई लाग्छ ।

म : यहाँहरूलाई मुरी मुरी धन्यवाद । मैले चाहेको समाज पनि यस्तै हो । मिडियाका माध्यमबाट म सकेसम्म यहाँहरूको यस अमूल्य विचारलाई जनमानसमा पुर्‍याउने प्रयत्न गर्नेछु । अब म लाग्छु पनि ।

पत्नी : ( एकछिन है भनेर भित्र जान्छिन् र ठुलो गिलासमा एक गिलास दुध लिएर आउँछिन् ) ल यतिचाहिँ हाम्रो सत्कार स्वीकार गर्नोस् ।

म : यसका लागि थप धन्यवाद ।

(त्यसैबेला नानीहरू पनि आएर मलाई पुन: नमस्कार गर्छन् । पतिपत्नी दुवैले मलाई हात जोडेर हँसिलो मुद्रामा बिदाइ गर्छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *