गोसाईँकुण्डमा डुबेका मोरङका दुवै युवकको मृत्यु
Untitled design - 1
विराटनगर। रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवाको शव नेपाल आर्मीको उद्धार टोलीले तालबाट सोमबार निकालेको छ।
मृत्यु हुनेहरूमा मोरङको बेलबारी नगरपालिका–४ निवासी अन्दाजी २५ वर्षीय मनोज न्यौपाने र विराटनगर निवासी अन्दाजी २२ वर्षीय सुजन ढकाल छन्। उनीहरू आइतबार तालमा डुबेर बेपत्ता भएका थिए।
घटनापछि नेपाल आर्मी श्रीनाथ गणबाट खटिएको उद्धार टोलीले खोजी कार्य थालेको थियो। सोमबार बिहान दुवै जनाको शव गोसाइँकुण्ड तालबाट बाहिर निकालिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता इन्स्पेक्टर राजु शाहका अनुसार टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। मोरङबाट मृतकका आफन्तहरू आउने क्रममा रहेको उनले सरल पत्रिकालाई जानकारी दिए ।
उनका अनुसार साथीहरु र केही आफन्तसहित १३ जनाको टोली गोसाईँकुण्ड क्षेत्रमा भ्रमणका लागि गएको थियो। उनीहरूमध्ये दुई जना कुण्डमा डुबेका थिए। परिवारले शव हेलिकप्टरबाट काठमाडौं झिकाइदिन आग्रह गरेको र यसका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन गोसाईँकुण्डमा स्नान गर्न पुग्ने गर्दछन्। प्रशासनले तीर्थयात्रीहरूलाई सुरक्षित तरिकाले स्नान गर्न तथा गहिरो स्थानमा नजान अनुरोध गरेको छ।
