झरीको खडेरी
झमझम बजिरहेको छ
साउने झरीको गीत
त्यही गीत सुनेर प्यास मेटाउँदैछ ऊ
पखाल्दै छ निथ्रुक्क शरीर
पसिना बेचेर किनेको पानीले
अचेल सजिलो भएको छ गाउँघरमा
सहर जोड्ने बाटाहरूले
हेर त! जलगाडी पनि यतै आउँदैछ ।
* * *
ऊ आकाशको डढेलोमा जल्दैछ
ऊ पातालको रापले सेकिँदैछ
जलेको र डढेको सगरका लप्काहरू
जब क्षितिजमा दन्किँदै आकाश पोत्न थाल्छन्
खुइलिँदै गएका उसका उमेरका रङ
र, जिन्दगीका निष्पट भित्ताहरू पनि
पखालिन्छन् झरीका गीतसँगै
अनि देख्छ– मुग्लान पसेको सपना ।
* * *
धाँजा फाटेका गह्राहरू
र, बाँझै कसिएका आँठाहरू
गीतले भिजेनन्, कविताले रसिएनन्
मानु खाएर मुरी बनाउने खालमा
मुरी नै दाउमा छ, के अर्थ खोज्नु मानुको?
न गीतमा छन्, न रीतमा भेटिन्छन्
साउने झरीका सुख्खा कथाहरू ।
०००
देखासिखीले फुट्दैनन्
कृषिका मूलहरू
दयाले भिज्दैनन् बाँझो खेतका गह्राहरू
उल्टा छन् भनाइ र गराइहरू
अनि कसरी बन्छ देश?
श्रम र पसिना चटक्कै बिर्सिएर
चढ्ने बेलामा, ऊ भिजिट भिसासँग लड्दैछ!
* * *
ऊ खडेरीलाई प्रश्न गर्छ
ऊ प्यासलाई प्रश्न गर्छ
अनेक प्रश्न छन्–
उजाडिएका चुरे र जङ्गललाई,
पग्लिँदै गएका हिमाललाई
र, खोला, ताल, कुवा र इनारलाई
तर कहिल्यै सोध्दैन–
ट्याङ्करको धारा खोल्न
घरैपिच्छे रिबन काट्दै हिँड्नेहरूलाई
साउने झरीको गीतलाई
किन पानी यति कठोर बनेको होला?
