राधाकृष्ण रथयात्रा : यसपालि नयाँ स्वरूपमा

विराटनगर। परम्परागत रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा यो वर्ष भदौ १ गते अझ भव्यताका साथ आयोजना हुने भएको छ। यस वर्ष नयाँ र आकर्षक रथमा भगवान राधाकृष्णको यात्रा गराइने तयारी छ।

राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश अनुसार, यसपालि बन्ने रथको मुख्य मन्दिरको आकार र नापमा परिवर्तन गरिएको छ। नयाँ रथको मुख्य मन्दिर १० फिट चौडाइ र १० फिट लम्बाइको हुनेछ।

पहिले १८ फुट उचाइको रहेकोमा यसपालि २१.३ फुटको बनाइँदैछ। त्यस्तै, पहिले १२ फुट चौडाइ रहेकोमा दुई फुट बढाएर १४ फुटको बनाइनेछ भने मूल रथको लम्बाई १६ फुटबाट बढाएर १९ फुटको बन्नेछ।

यसअघिको रथको संरचना २०२५ सालमा बनेको थियो। नयाँ संरचना निर्माण गर्दा पुरानो रथका केही सामग्रीहरूलाई पनि कलात्मक रूपमा प्रयोग गरिनेछ। रथ यसअघि जस्तै प्यागोडा शैलीमै निर्माण भइरहेको छ।

साउन ३१ गते कृष्ण जन्माष्टमी परेको छ। सोही दिन राधाकृष्ण मन्दिरमा विशेष पूजा आराधना गरिनेछ। त्यसको भोलिपल्ट भदौ १ गते दिउँसो रथयात्रा निकालिनेछ।

रथयात्रामा विभिन्न गाडी र साना रथहरू सहित करिब ६० वटा झाँकी रहने अध्यक्ष रेग्मीले बताए। ती झाँकीहरूमा भजन–कीर्तन समूहहरू, विभिन्न धार्मिक झाँकीहरू र प्रस्तुतिहरू समावेश हुनेछन्।

रथयात्रा दिउँसो साढे ३ देखि ४ बजेसम्ममा राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ। विराटनगरको मेन रोड हुँदै ट्राफिक चोक, रोडशेष चोक पुगेर कोशी राजमार्ग हुँदै जनआन्दोलन चोक, भृकुटी चोक भएर बरगाछी पुग्नेछ।

बरगाछीबाट रथयात्रा पूर्वतिर लाग्दै दुर्गाचोक हुँदै पुनः राधाकृष्ण मन्दिरमै पुगेर समापन हुनेछ। करिब १० किलोमिटरको यो रथयात्राको अवधि लगभग ५ घण्टाको रहने अनुमान गरिएको छ। साँझ करिब साढे ८ बजे राधाकृष्ण मन्दिर पुगेर यात्रा टुङ्गिनेछ।

रथयात्राको तयारीका लागि १००१ सदस्यीय मूल समिति गठन गरिएको छ भने समितिअन्तर्गत विभिन्न १९ वटा उपसमितिहरू पनि बनाइएको अध्यक्ष रेग्मीले जानकारी दिए।

विराटनगरमा हालको स्वरूपको रथयात्रा २०२४ सालदेखि गरिँदै आएको छ। त्यसअघि वि.सं. १९८८ तिर सानो खटमा भगवान कृष्ण र राधाको मूर्ति राखेर नगर परिक्रमा गराउने प्रचलन थियो।

यो भव्य धार्मिक उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालुहरू भेला हुने गर्दछन्। रथलाई डोरीले तानेर नगर परिक्रमा गराउने चलन रहेको यो अवसरमा सुरक्षा व्यवस्था सुदृढ बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *