दुर्घटनामा शिक्षिकाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा आइतबार बोलेरो गाडी दुर्घटना हुँदा एक शिक्षिकाको ज्यान गएको छ। दुर्घटनामा फुङलिङ–११ की २८ वर्षीया भावना रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

रसाइली सिरिजङ्गा गाउँपालिका-३ सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत थिइन्। उनी बर्खे बिदा सकिएपछि विद्यालय जाँदै थिइन्।

मे १ ज ३२९६ नम्बरको बोलेरो गाडी फुङलिङबाट सिरिजङ्गा जाँदै गर्दा फावाखोला क्षेत्रको बनपाला भन्ने स्थानमा ब्रेक फेल भएर सडकबाट करिब सय मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी रसाइलीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडीका चालक ३३ वर्षीय सविन विष्ट घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गाडीमा रहेका अन्य यात्रुहरू दुर्घटनास्थल पुग्नुअघि नै आ-आफ्नो गन्तव्यमा ओर्लिसकेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *