चिया निर्यातमा उल्लेख्य वृद्धि

झापा। झापास्थित मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यातमा उल्लेख्य वृद्धि भएको छ। यस वर्ष कुल ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.५० प्रतिशतले बढी हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार, २०८१/८२ मा १५ हजार ४१६.७५६ मेट्रिक टन चिया विदेश पठाइएको छ। जबकि, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ३ अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको चिया मात्र निर्यात भएको थियो।

अलैँची निर्यातमा भने गिरावट

चियाको निर्यात बढे पनि, सोही अवधिमा अलैँचीको निर्यातमा भने ३.२० प्रतिशतले कमी आएको छ। आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो वर्ष ७ अर्ब ९३ करोड ९ लाख ९० हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।

अन्य वस्तुको निर्यात अवस्था

मेची भन्सार कार्यालयबाट निर्यात हुने अन्य वस्तुहरूमध्ये भेनियर सिटको निर्यात ७२.३० प्रतिशत, मोलासिसको २४७.५० प्रतिशत, प्लाइउडको ७.६० प्रतिशत र फलामे पाताको १.८० प्रतिशतले बढेको छ।

यता, सिमेन्ट क्लिङ्करको निर्यात १३ प्रतिशत, अदुवामा ६०.७० प्रतिशत, अम्रिसोमा १४.९० प्रतिशत र छुर्पीमा १.०५ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

समग्रमा, आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयले २५ अर्ब १३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *