१८ वर्षदेखि बेपत्ता श्रीमानको पर्खाइमा इलामकी माया
इलाम। २०६४ साल वैशाख ७ गतेको कुरा हो। प्रसव पीडाले छटपटाइरहेकी श्रीमती मायालाई लिएर इलामका लोकेन्द्र धरान गए। प्रारम्भिक जाँचपछि डाक्टरले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताए। अनि मायालाई अपरेसन कक्षमा प्रवेश गराएर औषधि लिन निस्किए।
मायाको पीडा बढ्दै थियो। एकै छिनअघि शल्यक्रिया गर्न तयार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले अवस्था गम्भीर भन्दै तत्काल शल्यक्रिया नगर्ने बताए। माया बाहिर निस्किएर श्रीमानको प्रतीक्षा गरिरहिन्, आसपास सोधखोज गरिन् तर केही पत्तो लागेन।
उनी प्रतिष्ठान परिसरकै एउटा रुखमुनि बसेर लोकेन्द्रको प्रतीक्षा गरिरहेकी थिइन्। पीडा बढ्दै थियो। साँझ छिप्पिँदै थियो। अघि शल्यक्रिया नगर्ने भनेका डाक्टरले उनलाई बोलाउन लगाए। अपरेसन कक्षभित्र लगियो। शल्यक्रिया भयो।
त्यसबेला जन्मिएकी छोरी रेजिना १८ वर्षकी भइन् तर औषधि लिन भनेर हिँडेका लोकेन्द्र अझै फर्किएका छैनन्। उनी कहाँ गए, आफैं कतै गए कि कसैले उनलाई लिएर गयो भन्नेबारे केही खुल्न सकेको छैन।
द्वन्द्वको चपेटामा लोकेन्द्रको परिवार
कान्छी छोरी रेजिनालाई लोकेन्द्रले देख्नै पाएनन्। १२ कक्षाको परीक्षा दिएर बसेकी रेजिनाले पनि बुवाको अनुहार देख्न पाएकी छैनन्। त्यस बेला आठ वर्षका छोरा रेवन, तीन वर्षकी छोरी रेहालक्ष्मी र २५ वर्षकी मायालाई छाडेर हिँडेका लोकेन्द्र कहाँ छन्, कस्तो अवस्थामा छन् वा छैनन्, परिवारले थाहा पाउन सकेको छैन।
इलामको तत्कालीन शान्तिपुर गाउँ विकास समिति–३ (हाल रोङ गाउँपालिका–२) का लोकेन्द्र द्वन्द्वका बेला विस्थापित भएर इलाम सदरमुकाम सरेका थिए। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध थिए। जिल्ला कार्यसमितिको सहसचिवको जिम्मेवारीमा रहेका उनी एक चर्चित युवा नेताका रूपमा उदाइरहेका थिए।
शान्तिपुरमा रहँदा तत्कालीन ‘माओवादी विद्रोही’ ले भट्टराई परिवारको ‘खेदो’ नै खनेका थिए। लोकेन्द्रका बुवा चन्द्रकान्त भट्टराई शान्तिपुरका पूर्वप्रधानपञ्च थिए। २०५६ साल कात्तिकमा तिहारको भाइटीकाको रात देउसी खेल्न आएको समूहले बन्चरो प्रहार गरी उनको हत्या गरेको थियो। यो घटना त्यसबेला निकै चर्चामा आएको थियो। चन्द्रकान्तको शवलाई इलाम सदरमुकाम ल्याइएको थियो। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायत पार्टीका उच्च नेताहरू अन्तिम श्रद्धाञ्जली दिन इलाम आएका थिए।
चन्द्रकान्तका भाइ बलभद्रको पनि माओवादी विद्रोहीले झापाको बुधबारेमा हत्या गरेका थिए। उनी सशस्त्र प्रहरीमा कार्यरत थिए। यी सबै घटनापछि लोकेन्द्र इलाम सरेका थिए। इलाममा पनि उनी बसेको घरका धनीलाई ‘लोकेन्द्रलाई तुरुन्तै निकाल्नु, नत्र बम हानेर घरै उडाइदिन्छौं’ भन्दै धम्क्याइएको थियो। त्यसपछि उनीहरू अन्यत्र सरेका थिए। शान्तिपुरमै रहँदा पनि लोकेन्द्रलाई पटकपटक सार्वजनिक स्थलबाट खेद्ने काम भएको थियो। तत्कालीन माओवादी विद्रोहीले चन्द्रकान्तलाई ‘सरकारी मान्छे’ र ‘सामन्ती’ को आरोप लगाउँदै धम्क्याउने गरेका थिए।
मायाको संघर्ष र छोराछोरीको सफलता

श्रीमान् बेपत्ता भएपछि मायाले अत्यन्तै कष्टकर जीवन धान्दै छोराछोरी हुर्काइन्। पढाइन् र सक्षम बनाइन्। छोरा रेवन अहिले अष्ट्रेलियामा काम गरिरहेका छन्। जेठी छोरी रेहालक्ष्मीले बीएससी नर्सिङ पढेर काम गरिरहेकी छन्। पढाइमा अब्बल छोराछोरीले गरेको प्रगति देख्दा मायालाई निकै खुसी लाग्छ, तर श्रीमानको अवस्था थाहा नहुँदाको पीडाले भने उनलाई सधैं चिमोटिरहन्छ।
लोकेन्द्रको खोजीका लागि मायाले वडादेखि संघीय सरकारसम्म गुहारिन्। इलाम नगरपालिका, जिल्ला प्रहरी, मानवअधिकारवादी संस्थाहरू, राष्ट्रिय मानव अधिकार आयोग, शान्ति समिति, बेपत्ता आयोग गरी सबैजसो निकायमा उनले निवेदन दिइन्। सत्य निरुपण तथा मेलमिलाप आयोगमा उनको निवेदन चौथो नम्बरमा दर्ता छ।
वर्षौंसम्म अनेक निकाय धाउँदा पनि उनले खोजी हुँदैछ भन्ने आश्वासनबाहेक केही पाइनन्, न त कसैले कुनै सहयोग नै गर्यो। आजित भएर मायाले तीन पटक आत्महत्याको प्रयास समेत गरिन्। उनले भनिन्, ‘अब के बाँच्नु भन्ने लागेर तीन पटक त्यसो गर्ने प्रयास गरें। तर नानीहरूको अनुहार सम्झिएँ, श्रीमान् बेपत्ता, म पनि रहिनँ भने यिनीहरूको के अवस्था होला भन्ने लागेर रोकिएकी हुँ।’
त्यसपछि उनले आफ्ना सन्तानलाई राम्ररी पढाएर सक्षम बनाउने अठोट गरिन्। खर्च जुटाउन धेरै ठाउँमा काम गरिन् र तीनै सन्तानलाई राम्ररी पढाइन्। उनले गरेको दुःखअनुसार तीनै जनाले राम्ररी पढे, जसले मायालाई सन्तोष दिलाएको छ।
अनन्त खोजी र भ्रामक हल्ला

पछिल्ला दिनमा पनि मायाले लोकेन्द्रबारे सोधखोज गर्न छाडेकी छैनन्। कहिले विराटनगरमा हुने द्वन्द्वपीडितको कार्यक्रम त कहिले काठमाडौं र इलाममा हुने कार्यक्रमहरूमा उनलाई बोलाइन्छ। यिनै दुःख, पीडाका कथा सुनाउन लगाइन्छ, तर लोकेन्द्रबारे कुनै ठोस जानकारी उनलाई कसैले पनि दिन सकेको छैन।
बीचबीचमा उनले केही हल्लाहरू सुनिन्। एकपटक भारतको महाकुम्भ मेलामा लोकेन्द्रजस्तो लाग्ने मान्छे साधुको रूपमा कसैले देखेको भन्ने खबर फैलियो। यो खबर मायासम्म पनि आइपुग्यो। केही सञ्चारमाध्यममा समाचार पनि आयो। त्यसपछि माया महाकुम्भ भइरहेको ठाउँमा पुगिन्। सकेजति खोजिन् तर लोकेन्द्र कतै भेटिएनन्। अलिअलि अनुहार मिलेको अनुमानमा कसैले यस्तो हल्ला फैलाएको रहेछ। त्यहाँबाट रित्तै फर्किइन् माया।
फर्केपछि लोकेन्द्रको बारेमा सोधीखोजी गर्नेहरूले उनलाई दिक्क बनाए। त्यसपछि उनले फेसबुकमा आफ्नो कुरा लेखेर स्पष्टीकरण नै दिनुपर्ने अवस्था आयो। उनले लेखिन्–
‘सर्वप्रथम त हजुरहरूलाई नमस्कार। प्रस्तुत सन्दर्भमा मेरा श्रीमान् लोकेन्द्र भट्टराई १८ वर्ष अगाडि बेपत्ता हुनु भएको छ। बेला बेला मिडियामा यस्ता समाचार पढ्दा मन छियाछिया हुने रहेछ। मैले खोज्ने ठाउँ कहीँ बाँकी राखेकी छैन। देश छ, सरकार छ, कानुन छ तर विडम्बना खोज्ने मान्छे म एक्लै। के भनौं, कसलाई भनौं। पहुँच नपुगेको हो कि, सरकारले चासो नदिएको हो मलाई थाहा छैन तर पनि आशाको त्यो दियो निभेको छैन। यसै सिलसिलामा मिडियामा एउटा समाचार आयो– भारतको उत्तर प्रदेश महाकुम्भमा उस्तै अनुहारको बाबाजी मेरा श्रीमानसँग अनुहार मिल्ने भेटिए भन्ने सूचनाका आधारमा त्यहाँसम्म पुगें तर वहाँ नभएको पाएँ। त्यसैले मलाई पुरानो घाउ बल्झाउने काम मात्र भयो। यो कुरा साँचो नभएको जानकारी गराउँदछु।’
लोकेन्द्रका दाजु भुपेन्द्र झापामा बस्छन्। उनका भाइ शैलेश पनि झापामै छन्। लोकेन्द्रसँग अनुहार धेरै मिल्ने कान्छा भाइ शैलेशलाई कसैले देखेछ। त्यस बेला एकपटक फेरि हल्ला फैलियो- लोकेन्द्र झापाको बुधबारेमा देखिए। पछि बुझ्दै जाँदा भाइलाई नचिनेका कसैले देखेर लोकेन्द्र भएको ठानेछन्।

लोकेन्द्रको मृत्युको बाध्यकारी घोषणा
ताप्लेजुङका चन्द्रप्रसाद भण्डारी र दिवंगत धनमाया भण्डारीकी छोरी मायाको लोकेन्द्रसँग प्रेम विवाह भएको थियो। त्यसबेला लोकेन्द्र २७ र माया १६ वर्षका थिए।
लोकेन्द्र नभएपछि मायाले घरजग्गा आफ्नो नाममा सार्नुपर्ने भयो। छोराछोरीको पढाइका लागि यो अवस्था बाध्यात्मक बनेर उनीसामु आइपुग्यो। अनि उनले प्रक्रिया चलाइन्। इलाम जिल्ला अदालतले त्यसअनुसार ‘बेपत्ता’ लोकेन्द्रको मृत्यु भएको भन्ने घोषणासहितको फैसला गर्यो। माया भन्छिन्, ‘त्यसो नगरी घरजग्गा आफ्नो नाममा सार्न सकिंदैन थियो। बेपत्ता हुनुभएको श्रीमानको मृत्यु भएको भन्ने बनाउनु पर्दा मलाई कति पीडा भयो भन्ने अरू कसैले बुझ्न सक्दैनन्, त्यो बाध्यकारी अवस्था थियो, मेरो विवशता थियो।’
जीवन धान्न बीचमा कतिपय ठाउँमा काम गरेकी माया पछिल्ला दुई वर्षयता इलामकै राहसल बालगृह (अनाथालय) को अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिरहेकी छन्। आश्रममा अहिले १६ जना बालबालिका छन्। ‘पीडा भुल्न यिनै बालबालिकाको हेरचाह गरेर बसिरहेकी छु’ हाल इलाम नगरपालिका-७ मा बस्दै आएकी उनी भन्छिन्, ‘मनकारी दाताहरूको सहयोगमा यिनको लालनपालन गर्ने गरेका छौं।’
लोकेन्द्र टुप्लुक्क आइपुग्लान् भन्ने लाग्छ कहिलेकाहीँ?
यो प्रश्न सुनेपछि केही बेर मौन बनेकी मायाले भनिन्, ‘उहाँको सास भए पनि, लास भए पनि यथार्थ जानकारी पाए हुन्थ्यो भन्ने लागेको छ। आफू मर्नुअघि एकपटक उहाँको अनुहार हेर्न मन छ।’
