जबर्जस्ती करणी मुद्दामा फसाइदिने भन्दै लाखौं असुल्ने युवती पक्राउ
काठमाडौं। प्रहरीले सुर्खेतमा ‘हनी ट्रयाप’ मा पारेर आर्थिक लाभ लिएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, बुद्धपथस्थित बुलबुले होटलमा बोलाएर ब्ल्याकमेल गरेको आरोपमा ती महिलालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, २०८१ भदौमा वीरेन्द्रनगरकै एक पुरुषले ती महिलालाई बुलबुले होटलमा बोलाएका थिए। त्यहाँ उनीहरूबीच चिनजान भई सहमतिमा सम्बन्ध स्थापित भएको थियो।
त्यसपछि ती महिलाले पुरुषलाई ‘हनी ट्रयाप’ मा पारी आर्थिक लाभ लिने उद्देश्यले जबर्जस्ती करणी मुद्दामा फसाउने धम्की दिएको र सामाजिक सञ्जाल तथा मिडियामा नग्न फोटो राखिदिने भन्दै डरत्रास देखाई बेइज्जतीपूर्ण व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ।
विभिन्न मितिमा पटकपटक गरी पीडितबाट जम्मा १४ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रमाणसहित प्रहरीमा उजुरी परेपछि वीरेन्द्रनगर नगरपालिका–९ की २१ वर्षीया ती युवतीलाई प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए।
