सूर्योदयको हर्कटेबाट सडक निर्माण गर्न माग
इलाम। इलामको सूर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिका हुँदै झापाको निन्दासम्म पुग्ने सडक निर्माण कार्य सुरुदेखि नै विवादमा परेको छ। सडक हर्कटेबाट सुरु हुने भनिए पनि निन्दाबाट काम सुरु गरिएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र सूर्याेदय नगरपालिकाले त्यसको विरोध गर्दै कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
सूर्याेदय नगरपालिकाको १७औँ नगरसभाको निर्णयअनुसार नगर उपप्रमुख दुर्गा बराल र वडा नम्बर ६ का अध्यक्ष शिवकुमार बस्नेतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो।
यो सडक मुख्यमन्त्री ग्रामीण सडक योजनाअन्तर्गत पर्छ। स्थानीय तह र बासिन्दाले प्रदेश सरकारले शीर्षकविपरीत निन्दाबाट काम थालेको भन्दै आपत्ति जनाएका छन् र हर्कटेबाटै काम सुरु गर्न माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै भौतिक मन्त्री भूपेन्द्र राईले सडक शीर्षकअनुसार हर्कटेबाटै निर्माण हुने स्पष्ट पारेका छन्। उनले अब इलामका सडकहरू इलाममै स्थापना भएको पूर्वाधार विकास कार्यालयमार्फत निर्माण गरिने जानकारी पनि दिए।
प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएपछि प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र सचिवसँग पनि भेटेर सडक शीर्षकअनुसार नै निर्माणको माग दोहोर्याएका थिए। मुख्यमन्त्री कार्कीले पनि मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको प्रतिनिधिमण्डलका सदस्यले जानकारी दिए।
स्थानीय, जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदहरूले समेत पटकपटक हर्कटेबाटै काम सुरु गर्न ध्यानाकर्षण गराउँदै आएका छन्। शीर्षक विपरीत काम भएमा स्थानीयले प्रतिकार गर्ने र अदालत तथा अख्तियारमा न्याय माग्ने चेतावनी दिएका छन्।
संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएको यो सडक पहिला पनि हर्कटेबाटै निर्माण हुँदै आएको थियो। स्थानीयले अहिले व्यक्तिगत स्वार्थ र शक्तिको प्रभावमा निन्दाबाट काम थालिएको आरोप लगाउँदै यसको विरुद्धमा सङ्घर्ष गर्ने बताएका छन्।
-निशान निराैला
