भुवन खड्काको सशक्त अभिनयले दर्शकको मन जित्दै
झापा। पूर्वेली कलाकार भुवन खड्का अभिनित नयाँ भावनात्मक (सेन्टिमेन्टल) म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा घटेका यथार्थ घटनाहरूलाई समेटेर निर्माण गरिएको यस गीतमा खड्काले जीवन्त अभिनय प्रस्तुत गरेका छन्।
पूर्वमा बसेर निरन्तर अभिनय यात्रालाई अघि बढाइरहेका खड्काले यसअघि पनि दर्जनौं म्युजिक भिडियो, चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन्। यस भिडियोमा उनलाई कौशिला राजवंशी र मनिषा विश्वकर्माले अभिनयमा साथ दिएका छन्।
गीतको शब्द प्रकाशकला श्रेष्ठले लेखेकी हुन् भने डिम्पल अधिकारीको सुमधुर स्वरले गीतमा भावनात्मकता थपेको छ। काव्य रेकर्ड स्टुडियो दमकले कम्पोज गरेको यस गीतमा अशोक थापाको संगीत संयोजन छ।
भिडियोको निर्देशन अशोक लाखेले गरेका हुन्। छायांकन सोम मग्राती, सम्पादन मुहारसिंह थापा मगर (मुहा क्रिएटिभ स्टुडियो मङ्गलबारे) र गायक सुमन मग्राती छन्।
गीतकी निर्मातासमेत रहेकी प्रकाशकला श्रेष्ठले म्युजिक भिडियोले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छिन्। निर्देशकका अनुसार पछिल्लो समय समाजमा भइरहेका यथार्थ घटनालाई गीतमार्फत् दर्शाउने प्रयास गरिएको छ।
अभिनेता भुवन खड्का भन्छन्, “म सेन्टिमेन्टल गीतहरूमा अभिनय गर्न रुचाउँछु। जीवन्त अभिनय दिन सधैं तत्पर छु। यो म्युजिक भिडियोले पनि दर्शकको मन जित्नेछ। आगामी दिनमा अन्य नयाँ भिडियोहरूमा पनि अभिनय गर्दै जाने योजना बनाएको छु।”
पूर्वमा बसेर निरन्तर सिर्जना र अभिनयमा लागिरहेकै कारण खड्का पछिल्ला दिनहरूमा निर्माताहरूको रोजाइमा पर्न थालेका छन्।
यो भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
-निशान निराैला
