कहाँबाट आए ताप्लेजुङमा अग्रवालहरू? किन छाडे?

पूर्वोत्तर जिल्ला ताप्लेजुङ समयक्रममा धेरै फेरिएको छ। अहिले जिल्ला सदरमुकाम फुङलिङमा घना बसोबास छ। जिल्लाका अन्य व्यापारिक केन्द्रहरू पनि फस्टाएका छन्।

पहिले यस्तो थिएन। यहाँको व्यापारमा अग्रवाल समुदायको महत्वपूर्ण योगदान रहेको मानिन्छ। यहाँको व्यापारमा अग्रवाल समुदाय (मारवाडी) को प्रवेशले ठूलो परिवर्तन ल्याएको थियो। स्थानीय बुढापाकाका अनुसार, ताप्लेजुङमा कपडा पाउन पनि मुस्किल रहेको समयमा अग्रवालहरूले व्यापारमा नयाँ आयाम थपे।

अग्रवालहरूको प्रवेश

१९५५ सालतिर अग्रवालहरू ताप्लेजुङको व्यापारमा प्रवेश गरेको अनुमान गरिन्छ।

पूर्व प्रधानपञ्च लक्ष्मी पौडेल (थेचम्बु) का अनुसार, १९५५ सालतिर बिजनबारी र च्याङ्थापुमा व्यापार गर्ने केही व्यक्तिहरू ताप्लेजुङमा कपडा व्यापार गर्न आएका थिए।

श्यामलाल अग्रवाल (१९९६) का अनुसार, शिवनन्दनराम र उदयराम अग्रवाल ताप्लेजुङमा सुरुमा आएका थिए। उनीहरू १९५२ सालमा अमिनी स्थापना भएपछि, सायद ५४–५५ सालतिर आएका हुन सक्छन्। यी दुई दाजुभाइ पहिलो अग्रवाल व्यापारीका रूपमा चिनिन्छन्।

कहाँबाट आए ?

अग्रवालहरू कहाँबाट आए भन्नेमा एकमत छैन। केहीले च्याङ्थापुबाट आएको भन्छन् भने, प्रा.डा. गजानन्द अग्रवाल (२००३) का अनुसार उनका बुबा पिरुलालले शिवनन्दनराम र उदयराम अग्रवाल बिजनबारीबाट ताप्लेजुङ आएको बताउँथे।

च्याङ्थापु त्यस क्षेत्रको पुरानो व्यापारिक नाका र बजार थियो जहाँ औँसी र पूर्णिमामा हाटबजार लाग्थ्यो। कतिपय मारवाडीहरूले च्याङ्थापुको हाटबजारमा कपडा बेच्न सुरु गरे र पछि त्यहीँ बसेर व्यापार गर्न थाले।

किन आए ताप्लेजुङ ?

प्रा.डा. गजानन्द अग्रवालले मारवाडीहरू (जो आफूलाई हरियाणाको तित्लानाबाट आएका अग्रवाल भन्छन्) ताप्लेजुङमा किन आए भन्नेबारे रोचक जानकारी दिएका छन्।

उनका पुर्खाहरू हरियाणामा खेतीपाती गर्थे। खेतीले मात्रै नपुगेपछि उनका ठूलोबुबा कोलकातामा व्यापार गर्न थाले।

उनका बुबा पिरुलाल अग्रवाल पनि व्यापारमा लागे। एकपटक उनी दार्जिलिङमा पोकामा सामान (कपडा) बोकेर हिँड्दै गर्दा हर्कजङ्ग मादेनसँग भेट भयो।

हर्कजङ्गले ताप्लेजुङमा राम्रो व्यापार हुने र सुरक्षाको ग्यारेन्टी गर्ने कुरा गरे।

पिरुलाल दुई भारी कपडा लिएर हर्कजङ्गसँग ताप्लेजुङ पुग्दा एकै दिनमा सबै कपडा बिक्री भयो। सुरक्षाको ग्यारेन्टी र राम्रो आम्दानी देखेर उनले त्यहीँ बस्ने निधो गरे। पछि राम्रो कमाइ देखेर पिरुलालका काका रामस्वरुप पनि ताप्लेजुङ आए।

अग्रवालहरूको व्यापार र योगदान

कपडा व्यापारः ताप्लेजुङमा अग्रवालहरूले मुख्य रूपमा कपडाको व्यापार गरे। उनीहरू ताप्लेजुङ र आसपासका हाटबजारहरूमा पनि कपडा बेच्न जान्थे। गाउँमा उधारोमा लगानी गरी सिजनमा पैसा उठाउन जान्थे।

अन्य व्यापारः केही मारवाडीहरूले बिजनबारी घिउको पनि निकासी गरेको सुनिन्छ। पछिल्लो समय रोशन अग्रवालले अलैँची व्यापारलाई प्राथमिकता दिए।

शिवनन्दनराम र उदयराम अग्रवालपछि जोखिराम, ठण्डिराम, मामराज, हरद्वारीमल, लिखमीचन, महावीर, नन्दरीलाल, हजारीलाल, सोमलाल, द्वारिका, मोहनलाल, सत्यनारायण, दुलिचन, पिरुलाल, बसिसरलाल, लिखमाचन, रामस्वरुप, गोगुन, वंशी, बल्लुचन, काशी, रामेश्वर, श्यामलाल, ओमप्रकाश, हर्कनदास, लक्षुमन, रोशन लगायतका धेरै अग्रवालहरूले ताप्लेजुङको व्यापारलाई अगाडि बढाए।

जिल्ला छाड्नुको कारण

करिब १०० वर्षभन्दा बढी समय ताप्लेजुङको व्यापारमा महत्वपूर्ण योगदान पुर्याएका अग्रवालहरूले अहिले जिल्ला छाडेका छन्। किन?

सुरुमा विवाहवारीका लागि जिल्ला छाड्नु प्रमुख कारण थियो। पछि शिक्षा र व्यापारमा थप सहजताको खोजीमा पनि उनीहरूले जिल्ला छोडे।

यहाँका अग्रजहरूका अनुसार अग्रवाल समुदायले ताप्लेजुङको व्यापारिक विकासमा ठूलो भूमिका खेलेका थिए।

उहिल्यैको कुरा हो– ताप्लेजुङको व्यापार र दैनिक जीवनको आधार धरान थियो। ताप्लेजुङबाट धरान गएर व्यापारको सामान ल्याउनु पर्ने। नुन–तेल ल्याउनु पर्ने। मानिसले धरानबाटै ढाकरमा सामान बोकेर ल्याउँथे।

यो हाम्रो बुवाको समयको कुरा हो। पछि हामीले पनि त्यो समय अलिअलि भेट्यौं। त्यतिखेर सामान लिन नगदै पैसा बोकेर जानुपर्ने। एक दिन गुफा पोखरीदेखि अघि लागेपछि डाका लागेछ। बुवालाई डाकाले खेदेछ।

बुवा जंगलैजंगल भागेर चौकी भन्ने ठाउँ पुग्नु भयो रे। गुफाबाट चौकी पुग्न करिब ३ घण्टा हिँंड्नु पर्थ्यो। चौकीमा पुग्दा अघि गएका साथीहरुसँग भेट भएछ। बुवा निकै थकित अवस्थामा पुग्दा शरीरभरि जुकैजुका थियो रे।

साथीहरुले जुका टिपेर फालिदिएछन्। यो कुरा हाम्रै फुपाजु मित्रलाल पौडलबाट पनि सुनें मैले। बुवाले त आफ्नो दुःखको कुरा खासै सुनाउनु हुँदैनथ्यो।

हो, त्यति बेलादेखि होला सायद धरानमा धेरै साहुहरुमध्ये मैले पछि थाहा पाउँदा पनि ‘दिपचन्द भवानी प्रसाद’ नामको कपडा पसल थियो। अहिले मोटरबाटोले धरानको हाम्रो बजार विर्तामोड सर्यो। त्यसैले हामी हम्मेसी तेता पुग्दैनौं। तर तमोर करिडोरले हामीलाई फेरि बिस्तारै त्यता जोड्दैछ।

यही मेसोमा दाजु धरान पुग्नु भयो र दिपचन्द साहुसँग भेट भयो। मलाई उहाँलाई देख्ने उत्कट इछा भएर फोटो खिच्नु है दाजु भनेको थिएँ। दाजुले पठाउनु भएको फोटो हो यो। अब त निकै बुढो हुनुभयो होला भनेको, दिपचन्द साहुलाई झनै भर्खरको पो देखें। उहाँउहाँलाई हार्दिक नमन गर्छु। दिपचन्द साहुको छोरा सुनिल अहिले बिर्तामोडमा व्यापार व्यवसायमा क्रियाशील हुनुहुन्छ। उहाँसँग चाहिँ भेट भइरहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *