ताप्लेजुङमा बाढीले बेलिब्रिज बगायो, आउजाउ ठप्प
पाँचथर-ताप्लेजुङ खण्डमा पर्ने हेवा खेलामा आएको बाढीले डाइभर्सन बगाएपछि आवागमन प्रभावित बनेको छ । तस्बिरः अजेन्द्र वाइबा तामाङ
ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–५ मा रहेको हेल्लोक खोलाको बेलिब्रिज मंगलबार राति आएको बाढीले बगाएको छ। रातभरको भारी वर्षाका कारण आएको बाढीले बेलिब्रिज बगाउँदा वडा नम्बर ५ र ६ बीचको आउजाउ पूर्ण रूपमा बन्द भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताएका छन्।
यो बेलिब्रिज करिब ४ वर्षअघि रेमिट हाइड्रोले ५ करोड रुपैयाँको लागतमा बनाएको थियो। यसले फक्ताङलुङ गाउँपालिकाको तापेथोक (वडा ५) र लेलेप (वडा ६) हुँदै माथिल्लो भेगका ओलाङचुङगोला र घुन्साजस्ता क्षेत्रमा आवतजावत सहज बनाएको थियो।
मंगलबार राति १२ बजेदेखि बिहान ४ बजेसम्म भएको भारी वर्षाले तमोर नदी र अन्य खोलाहरूमा पनि पानीको बहाव बढेको छ। वडा नम्बर ६ को लेलेपमा रहेको फाङ्बारी विद्यालय नजिकै पहिरो गएको छ। आसपासका क्षेत्रमा जोखिम बढेको छ।
ताप्लेजुङ पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो। स्थानीय प्रशासनले तमोर नदीमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
