कम्युनिष्ट आन्दोलनका अगुवाको स्मृति दिवस मनाइँदै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस आज बुधबार देशभर मनाइँदै छ। यस अवसरमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले कार्ल माक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए।

उनले विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए। यसैले नेपालका कम्युनिष्ट पार्टीहरूले पुष्पलाललाई नेपालको कम्युनिष्ट आन्दोलनको पिताका रूपमा मान्ने गर्दछन्।

पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए। उनकै नेतृत्वमा २००६ वैशाख १० गते भारतको कोलकातास्थित श्यामबजारका एक बङ्गालीको घरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको थियो। पुष्पलाल नेकपाका संस्थापक महासचिव रहे भने नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ स्थापनाकालका अन्य सदस्यहरू थिए।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचन लगायतका कार्यक्रमहरू गर्दैछ।

पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ। पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *