फुटबलमा मरिहत्ते गर्ने इलामेली ठूलो टुँडिखेल स्याहार्दै

इलाम। मैदान उराठ भयो। खेलाडी लडेर चोटग्रस्त भए। यस्तै गुनासो हुने गर्थ्यो अघिल्ला प्रतियोगिताहरू हुँदा इलामको ठूलो टुँडिखेलमा। धेरैले मैदान गतिलो नभएको भनेर आलोचना र टिप्पणी गरे।

यस्तो आलोचना अन्यथा थिएन। मैदानको बीचबीचमा चौर नहुँदा उराठ लाग्दो नै थियो। विभिन्न प्रतिष्ठित फुटबल प्रतियोगिता हुँदै आएको यो मैदानमा खेलाडी लड्दा चोटग्रस्त हुँदै आएका थिए।

पछिल्लो समय मैदानको राम्रो स्याहार नहुँदा अव्यवस्थित बन्दै गएको थियो। केही वर्षअघि भने यसको माईभ्याली फुटबल क्लबको अगुवाइमा स्याहार हुँदै आएको थियो। बीचमा अव्यवस्थित भएको मैदानलाई माईभ्याली फुटबल क्लबले करिब २५ लाख रुपैयाँ खर्चिएर मैदानभरि चौर बनाएर व्यवस्थित बनाएको थियो। तर ‘रमाइलो मेला’ का नाममा प्रयोग गरिएपछि मैदान दयनीय अवस्थामा पुगेको क्लबका पूर्वअध्यक्ष धीरेन चेम्जोङले बताए।

अहिले रेडहर्ष फुटबल क्लब र ओएसिस फुटबल क्लबको अगुवाइमा मैदान व्यवस्थित पार्ने काम भइरहेको छ। व्यवस्थित पार्ने काममा इलाम नगरपालिका र नेपाली सेनाको सार्दुल गणले प्राविधिक सहयोग गरिरहेको रेडहर्षका महासचिव प्रकाश घिमिरेले बताए।

मैदान व्यवस्थित बनाउन फुटबल भनेपछि मरिहत्ते गर्ने इलामे खेलप्रेमीले पनि सघाइरहेका छन्। शनिबार मात्र श्रमदान अभियान चलाइएको थियो। यसमा नेपाली कांग्रेस, नेकपा एमालेलगायत राजनीतिक दलका नेता-कार्यकर्ता, समर्थक, सामाजिक अभियन्ता र अन्यले श्रमदान गरेका थिए।

मैदानमा रहेको खाल्डाखुल्डी पुर्ने, चौर मिलाउने जस्ता काम अहिले भइरहेको छ। यसका लागि जस्बिरे र आसपास क्षेत्रबाट ठाउँ, मौसम र वातावरण सुहाउँदो झार (ठूलो खाले दूबो) ल्याउने गरिएको महासचिव घिमिरेले जानकारी दिए।

वर्षा सकिएपछि यहाँ फुटबल प्रतियोगिताहरू हुने छन्। त्यसअघिका महिनाहरूमा मैदान मर्मत र व्यवस्थित गर्ने काम निरन्तर हुने क्लबले जनाएको छ। त्यसपछि लगत्तै इलाम गोल्डकप, महिला फुटबल प्रतियोगिता जस्ता राष्ट्रिय स्तरका स्पर्धा हुने छन्। अन्य स्थानीय र क्लबका खेलहरू पनि हुने छन्।

‘मैदान व्यवस्थित भइसकेपछि खेलाडी लड्दा चोट नलागोस्, घाइते नहोउन् भनेर हामीले काम गरिरहेका छौं, यसमा धेरैले सघाइरहनु भएको छ’ महासचिव घिमिरेले भने।

इलामे दर्शक फुटबल भनेपछि मरिहत्ते गर्छन्। २०४५ सालको भूकम्पपछिका वर्षमा ‘भूकम्पपीडित स्मृति कप’ र अन्य साना–ठूला प्रतियोगिता हुँदा खेलप्रेमीहरू घरको ढोका बन्द गरेर सपरिवार फुटबल हेर्न ठूलो टुँडिखेलमा भेला हुन्थे। खेलाडीहरूको स्वागतमा घरअघि कलशमा फूल राख्ने समेत गरिएको सम्झन्छन् माईभ्याली फुटबल क्लबका पूर्वअध्यक्ष  चेम्जोङ।

‘इलामेलीहरूको फुटबल प्रेम र क्रेज गजबको छ’ फिफा रेफ्री किरण गिरी भन्छन्, ‘धेरै प्रतियोगिताहरूमा मैले निर्णायक भएर काम गर्ने अवसर पाएको छु, इलाम जाने भनेपछि बेग्लै रोमाञ्च अनुभव हुन्छ।’

इलाम सदरमुकामको मुख्य बजारको पुछारमा रहेको यो त्यही मैदान हो, जहाँ राणाकालमा खेल हुँदाहुँदै अँध्यारो भयो भने ‘पेट्रोमेक्स’ बालेर खेल जारी राखिन्थ्यो। स्थानीय अग्रजहरूका अनुसार राणाहरूको टोली र स्थानीय टिमबीच खेल भइरहन्थ्यो। त्यस क्रममा समयको कुनै सीमितता हुँदैन थियो।

राणा टिमभन्दा स्थानीय टिमले बढी गोल गरेको अवस्थामा रात परे पनि बत्ती बालेर खेल जारी राखिन्थ्यो। अग्रजहरूका अनुसार जब राणा टोली प्रतिस्पर्धी टिमभन्दा बढी गोल गर्न सफल हुन्थ्यो, अनि खेल सकिएको घोषणा गरिन्थ्यो।

इलाममा वि.सं. १९९० ताका फुटबल खेल सुरु भएको पाइन्छ। त्यसबेला स्थानीय गोविन्दप्रसाद सिंह, नरेन्द्र खाकी, मदनबहादुर कार्की, दुर्गाप्रसाद शिवाकोटी, बमबहादुर देवान, अमरबहादुर श्रेष्ठ, फत्तेबहादुर बुढाथोकी, लोकबहादुर खत्री, पदमबहादुर देवान, देवी भक्तराजलवट, शेरबहादुर पराजुली इलामको पहिलो पुस्ताका संगठित खेलाडी हुन्।

उनीहरूसहितको टिमले राणा प्रशासकहरूको टिमसँग फुटबल खेल्थ्यो। १९३९ ताका श्रीनाथ पल्टन इलाम आएपछि हलगोरु नारेर बनाइएको मैदान नै अहिलेको ठूलो टुँडिखेल हो। त्यस बेला मैदान बनाउन पुरुषहरू गोरु नारेर काम गर्थे अनि महिलाहरूले भुटेको मकै र अरु खाजा खुवाउने गरेको अग्रजबाट सुनेको इलामका अगुवामध्येका धर्म गौतम बताउँछन्।

यो मैदानमा ऊबेला पनि प्रतिष्ठित प्रतियोगिता हुन्थे। तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित ‘महावीर शिल्ड’, गजराज बुढाथोकी स्मृतिको ‘गजराज कप’, ज्ञानी भक्तराजका नामको ‘ज्ञानी मेमोरियल शिल्ड’ र कमल गजमेरका नाममा राखिएको ‘कमल शिल्ड’ प्रतियोगिता यही मैदानमा आयोजना भएका थिए।

२०४०-४५ ताका इलामको फुटबलले निकै चर्चा कमाएको थियो। पुरुषतर्फ गणेश पाण्डे, धीरेन्द्र प्रधान, मंगेश बस्नेत, ध्रुव भक्तराज, धीरेन चेम्जोङ, दर्शन भक्तराज, हिमाल दाहाल, विनोद श्रेष्ठ लगायत रहेको इलामको बलियो फुटबल टोली थियो। यसैगरी, रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जुनु खड्का, संगीता राउत, शोभा राई, इन्द्र राई र जमुना पाण्डे समावेश थिए।

ठूलो टुँडिखेलमा २०४३ मा राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। त्यस बेला गण्डकीलाई २–० ले हराउँदै पहिलो बनेको मेचीको फुटबल टोलीमा १२ जना इलामेली खेलाडी थिए। पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा इलामकै लोकबन्धु गुरुङ, सुवास राई चर्चित बनेका थिए भने इलामकै नवयुग श्रेष्ठले पनि लोकप्रियता हासिल गरेका छन्।

यसैगरी, पछिल्लो पुस्ताका मनिष बस्नेत, विवेक बस्नेत, छिरिङ गुरुङ, सविन रेग्मी, दर्शन गुरुङ जस्ता खेलाडी प्रतिभाशाली मानिन्छन्। यस्तै, इलामको सूर्योदय नगरपालिका-११ की एन्जिला तुम्वापो सुब्बाले पनि राष्ट्रिय टिममा प्रभावशाली उपस्थिति जनाएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *