रहेनन् इलामेली कलाकार एवं व्यवसायी सुनील गजमेर
इलाम। गायन एवं वाध्यवादनमा पोख्त इलामेली कलाकार एवं व्यवसायी सुनील गजमेरको निधन भएको छ। उनको शनिबार राति इलाम जिल्ला अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि आन्द्राको समस्याले ग्रस्त उनको उपचार हुँदै आएको थियो । उनका दाजुहरुको पनि यस्तै प्रकृतिको स्वास्थ्य समस्याका कारण निधन भएको थियो।
सुनीलका सहपाठी प्रशान्त शर्मा घिमिरेका अनुसार स्वास्थ्यमा समस्या भएपछि गत वर्ष सहपाठी र शुभचिन्तकहरूले सहयोग जुटाएर काठमाडौंमा लगेर उपचार गरिएको थियो।
सुनचाँदीका गहना बनाउने पेशामा आबद्ध गजमेर काठमाडौंमा उपचारपछि केही समय झापा बसेर पछिल्लो समय इलाममै बस्दै आएका थिए।
स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनलाई इलाम अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको शर्माले जानकारी दिए। राम्रो व्यवसाय गरिरहेको र गायन एवं वाध्यवादनमा पनि पोख्त सहपाठीको निधनले दुःखी बनाएको शर्माले बताए।
४५ वर्षका सुनीलको निधनपछि शर्मालगायत उनका आफन्त, सहपाठी, शुभचिन्तक एवं उनलाई चिन्नेहरूले दुःख व्यक्त गरेका छन्।
उनको अहसज अवस्था एवं स्वास्थ्य उपचारका लागि शर्मासहित साथीहरु डेनी निरौला, रेखा गौतम, मधुसुदन श्रेष्ठ, दीपक भारद्वार, मनोज बुढाथोकी, हेल्पिङ ह्यान्डस्का रतनकुमार चौधरी र सुनचाँदी व्यवसायी संघ इलामले महत्वपूर्ण सहयोग गर्दै आएका थिए।
उनको निधनले निकै दुःखी तुल्याएको उल्लेख गर्दै सहपाठी शर्माले लेखेका छन्–
‘मानव चोला जन्मपछि मृत्यु शाश्वत सत्य हो। यही सत्यको बाटोमा आज हाम्रो साथीको जीवनयात्रा टुंगिँदै गर्दा यसअघि उसको जीवनको दुःखद कथामा हामी समाबेश भएका थियौं। जीवन बचाउन हामी सबैको सहभागिता अभिछिन्न रहयो। औषधि उपचार र आन्द्राको शल्यक्रिया पश्चात् साथीले पुनर्जीवन पाएको थियो। जुन मसहितको विशेष पहल र मेरा आत्मीय मित्रहरुको अभूतपूर्व सहयोगबाट सम्पन्न हुन सक्यो। जसको कोही छैन उसको भगवान छ भनेजस्तै अत्यन्त सहयोगी साथीहरुबाट सबै सम्भव रहयो। सम्पूर्ण साथीहरुलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु। हाल सुनीलको आफ्नो आमाबुवा, दाजुभाइ नभएको, गृहिणी पनि साथमा नरहेको अवस्था छ। दुई जना छोरी आ–आफ्ना घरतिर रहेको अवस्था छ। यस दुःखद घडीमा साथी सुनीलप्रति हार्दिक श्रद्धाञ्जली।’

मृत आत्माप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।।।
हार्दिक श्रद्दान्जली मित्र