पोस्टमार्टमका लागि राखिएको शव आफन्तले लगे
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि राखिएको एक शव आफन्तको समूहले लिएर भागेका छन् । यस क्रममा प्रहरी र आफन्तबीच सामान्य झडपसमेत भएको थियो ।
शुक्रबार दिउँसो सप्तरीको बिष्णुपुर गाउँपालिका-१ थलहीकी ४५ वर्षीया मसुरन खातुन राजगढ गाउँपालिका-३ स्थित आफ्नो माइतीघरको खेतमा धान रोपाइँ गरिरहेका बेला अचानक बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएपछि प्रहरीले शवको पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालको पोस्टमार्टम गृहमा राखेको थियो ।
तर, आफन्तहरूले पोस्टमार्टम नगराउने भन्दै बेलुका करिब ५ बजे पोस्टमार्टम गृह तोडफोड गरी शव लिएर भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट अस्पताल पुगेको टोलीले शव लिएर भागिरहेका आफन्तलाई रोक्न खोजे पनि उनीहरूले मानेनन् ।
पोस्टमार्टमका लागि राखिएको शव यसरी जबरजस्ती लगिएपछि घटनामा शंका उत्पन्न भएको छ । शवको पोस्टमार्टम नहुँदा अनुसन्धान प्रभावित हुने देखिए पनि प्रहरीले यसमा खासै सक्रियता नदेखाएको बताइएको छ ।
