झापामा भारी वर्षा, देशभर मनसुनी प्रभाव जारी
फाइल तस्बिर
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले झापा जिल्लामा पछिल्लो तीन घण्टामा उल्लेख्य वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विभागले आज बिहान ४ः४० बजे सूचना जारी गर्दै झापाको बाहुनडाँगी वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ।
विभागका अनुसार, उक्त क्षेत्र हुँदै बग्ने निन्दा खोला, मेची नदी तथा साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले डुबानको जोखिममा रहेका होचा भूभागका बासिन्दाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ। बिहानसम्म थप वर्षा हुन सक्ने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक पूर्वतयारी गर्न पनि विभागले सुझाएको छ।
देशभर मनसुनी प्रभाव
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज शनिबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२४ घण्टाको पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
