छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक बर्खास्त
काठमाडौं। रौतहटको माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा विद्यालय व्यवस्थापन समितिले बर्खास्त गर्ने निर्णय गरेको छ।
विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल सेवाबाट हटाउने निर्णय गरेको हो।
विद्यालयका पूर्वअध्यक्ष राजकुमार दासका अनुसार, साहले यसअघि पनि पटकपटक छात्रालाई दुर्व्यवहार गर्दै आएका थिए। सामाजिक दण्ड भोगे पनि कानुनी कारबाही नहुँदा उनको यस्तो व्यवहार दोहोरिएको आरोप दासले लगाएका छन्।
गत असार २९ गते साहले एक १६ वर्षीया छात्रालाई ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि यो विवाद सतहमा आएको हो। यस घटनापछि आक्रोशित समूह कुटपिट र तोडफोडमा उत्रिएको थियो, जसपश्चात् प्रहरीले अनुसन्धानका लागि साहलाई नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले छात्राका अभिभावकले दिएको उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताएका छन्। उनका अनुसार, साहविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्यादसहित अनुसन्धान थालिएको छ।
गरुडा नगरपालिका-१ मा रहेको उक्त विद्यालयमा शिक्षक साहले कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए।
