विदेशमै अस्ताए सूर्योदयका युवक
इलाम। वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुबई पुगेका सूर्याेदय नगरपालिका–७, गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारका क्रममा निधन भएको छ।
गत जेठ ५ गते दुबई पुगेका खतिवडा मिडल इस्टको ‘एफजेठ मास्ट इन्जिनियरिङ कम्पनी’ मा कार्यरत थिए। उनी असार ८ गतेदेखि गम्भीर बिरामी परेका थिए। सुरुमा सेतो रक्तकोषको कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई पछि निमोनिया समेत देखिएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयूमा राखेर उपचार गरिए पनि अन्ततः असार २८ गते दुबईको एआई रोसिड अस्पतालमा उनको निधन भएको काका लिलाधर खतिवडाले जानकारी दिए।
लेखनाथको उपचारमा अत्यधिक खर्च लागेकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको थियो। लाखौँ सहयोग सङ्कलन भए पनि उनलाई बचाउन नसकिएको लेखनाथको भनाइ छ।
उनको अन्त्येष्टि साउन २ गते शुक्रबार स्थानीय सिद्धिखोला (मालुम जाने बाटो) मा गरिने परिवारले जनाएको छ। शव काठमाडौँ आइसकेको र इलाम ल्याइँदै गरेको लेखनाथका काका लीलाधरले बताए।
दिवंगत खतिवडाका बुवाआमा मनोरथ र भोजकुमारी खतिवडा, श्रीमती चन्द्रदेवी खतिवडा (पूजा) र छोराहरू प्रनिल तथा पल खतिवडा छन्। खतिवडा परिवार सूर्याेदय नगरपालिका–७, गोगने, इलाममा बस्दै आएको छ।
