पाकिस्तानमा मनसुनी वर्षा: २४ घण्टामा ६३ जनाको मृत्यु, सयौँ घाइते
प्रतीकात्मक तस्बिरः एआई इमेज
काठमाडौँ । पाकिस्तानमा मनसुनी वर्षाले ठूलो क्षति पुर्याएको छ। बीबीसीका अनुसार, बुधवार बिहानदेखि सुरु भएको मुसलधारे वर्षापछिको २४ घण्टामा पन्जाब प्रान्तमा कम्तीमा ६३ जनाको ज्यान गएको छ भने २९० जना घाइते भएका छन्।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, ज्यान गुमाउनेहरूमध्ये धेरैजसो घर भत्किएर मृत्यु भएका छन्। यस्तै, केही मानिसहरू डुबेर र करेन्ट लागेर पनि बितेका छन्।
राजधानी इस्लामाबाद नजिकै रहेको ठूलो सहर रावलपिन्डीका बासिन्दालाई आज (बिहीबार) घरमै बस्न सार्वजनिक बिदा दिइएको छ। अधिकारीहरूले बाढी आएका नदीको छेउछाउ बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
यसैबीच, बाढीका कारण पञ्जाबभरि धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् भने दर्जनौँ उडानहरू रद्द वा ढिलाइ भएका छन्।
गएको जुन महिनामा मनसुन सुरु भएयता पाकिस्तानमा वर्षाका कारण झन्डै १८० जनाको ज्यान गइसकेको छ। तीमध्ये आधाभन्दा धेरै बालबालिका रहेको खबरमा उल्लेख छ।
