साफ यू-२० महिला च्याम्पियनशिप: नेपालद्वारा श्रीलङ्का ७-० गोलले पराजित

काठमाडौँ। बङ्गलादेशमा सञ्चालन भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई दोस्रो खेलमा पनि फराकिलो अन्तरले हराएको छ।

ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७-० गोलले पराजित गर्‍यो। पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले २-२ गोल गरे भने पूर्णिमा राई, सरिताकुमारी नाथ र बिर्सना चौधरीले १-१ गोल थपे।

प्रतियोगितामा यसअघिको भेटमा पनि नेपालले श्रीलङ्कालाई समान ७-० गोलले नै हराएको थियो। यस्तै नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो।

यो जितसँगै नेपाल ४ खेलमा ९ अङ्कसहित गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बङ्गलादेश ३ वटै खेल जित्दै ९ अङ्कका साथ दोस्रो स्थानमा छ।

प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले बेलुकी पौने ७ बजे भूटान र बङ्गलादेश खेल्दैछन्। सहभागी ४ वटा टोलीले एकअर्कासँग २-२ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *