अष्ट्रेलियाको प्रतिष्ठित ‘निन्जा ए-लिग’ खेल्दै सावित्रा

काठमाडौं। नेपालकी स्टार महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) ले अब अष्ट्रेलियाको प्रतिष्ठित निन्जा ए-लिग खेल्ने भएकी छन्। उनले आगामी दुई सिजनका लागि न्युजिल्याण्डको क्लब वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्। यो क्लबले अष्ट्रेलियाको शीर्ष लिगमा खेल्दै आएको छ।

वेलिङटन फोनिक्स क्लबले सावित्रालाई अनुबन्ध गर्न पाउनु आफ्नो टोलीका लागि एक महत्वपूर्ण कदम भएको बताएको छ। क्लबका अनुसार सावित्रा नेपाल र आफ्नो क्लब दुवैका लागि उत्कृष्ट गोलकर्ता हुन्।

हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उनले लगातार दुई ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन्। यसअघि भारतको महिला सुपर लिगमा २४ खेलमा ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रान्सेली क्लब एन अभेन्ट गुइनगाम्पबाट खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास रचेकी थिइन्।

फोनिक्सकी कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेकी छन्। ‘हामी सावित्रालाई स्वागत गर्न पाउँदा गर्वित छौं। उनको अनुभव, नेतृत्व र आक्रमण क्षमताले हाम्रो टोलीलाई बलियो बनाउनेछ’ उनले भनिन्।

साम्बाले पनि वेलिङटन फोनिक्समा आबद्ध हुन पाउँदा निकै उत्साहित भएको बताएकी छन्। ‘म वेलिङटन फोनिक्समा आउन पाउँदा निकै उत्साहित छु। धेरै गोल गर्दै समर्थकलाई खुशी बनाउन चाहन्छु। जब मैले फोनिक्सको आगामी सिजनका लक्ष्यबारे सुनें, टोलीमा सामेल हुने निर्णय गर्न मेरो लागि सजिलो भयो’ उनले भनिन्।

सावित्राले आजै आफ्नो पूर्व क्लब गुइनगाम्पसँगको दुई वर्षे सहयात्रा टुङ्गिएको घोषणा गर्दै धन्यवाद पनि दिएकी छन्। सावित्रा २०२५–२६ को ए–लिगका लागि वेलिङटन फोनिक्स महिला टोलीमा आबद्ध हुने १७औं खेलाडी हुन्।

साबित्राको यो खबरले नेपाली खेलाडीहरूमा उत्साह थपेको छ। सावित्रा जस्तो खेलाडीले अष्ट्रेलियाको शीर्ष लिगमा खेल्न पाउनु आफैंमा एउटा ठूलो उपलब्धि हो। यसले अन्य युवा नेपाली खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रियस्तरमा पुग्न प्रेरणा दिनेछ।

नेपालमा फुटबलको विकासका लागि यस्ता अन्तर्राष्ट्रिय अवसरहरू निकै महत्वपूर्ण हुन्छन्। यसबाट खेलाडीहरूले नयाँ अनुभव, उच्चस्तरीय तालिम र विश्वस्तरीय खेल वातावरणको अनुभव गर्न पाउने खेलाडी बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *