सूर्योदयको भालुखोपमा युवकको हत्या

इलाम। इलामको सूर्याेदय नगरपालिका-१, भालुखोपमा एक जनाको हत्या भएको छ। यो घटना बुधबार राति भएको हो। आक्रमणमा परी मृतकका दाजु घाइते भएका छन्।

प्रहरीका अनुसार, धारिलो हतियार प्रहारले २१ वर्षीय प्रकाश चापागाईंको ज्यान गएको छ। उनी माइजोगमाई-२, तारसिंह गाउँका बासिन्दा थिए। घटनामा मृतकका दाजु ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन्। उनको पेटमा पनि धारिलो हतियार लागेको छ।

उनको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार घटना राति करिब १० बजेतिर भएको हो।

प्रकाश र निरोज दुवै जना काजी तामाङको घरमा ससुराली गएका बेला सूर्याेदय-१, श्रीखोलका ३३ वर्षीय किरण शेर्पासँग झगडा भएको थियो। सोही क्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियारले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूबीच के कारणले झगडा भएको भन्ने खुलेको छैन।

प्रहरीले किरण शेर्पालाई नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *