घूस विवादमा परेका मन्त्री गुप्ताले छाडे पद
काठमाडौं। घूस लिएको विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
उनी बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका थिए। उनको व्यापक आलोचना भएको थियो।
विवाद र आलोचनासँगै नैतिक दबाबमा परेपछि उनले रुाजीनामा दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा गुप्ताले यसबारे उल्लेख गरेका छन्।
केही दिनअघि मन्त्री गुप्ताले घूस लेनदेनबारे गरेको कुराकानीबारे अडियो सार्वजनिक भएको थियो। त्यसपछि विपक्षी दलहरुले राजीनामा माग गर्दै कारबाही गर्न माग गरेका थिए।
सार्वजनिक अडियो रेकर्ड अनुसार, गत पुसरमाघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए। अडियो रेकर्डमा कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्ति र पोखराको जग्गाको कुराकानीको प्रसंग छ।
नेकपा एमालेका गुप्ता पर्सा–३ बाट प्रतिनिसभामामा प्रतिनिधित्व गर्छन्।
उनले फेसबुकमा यस्तो लेखेका छन्-
बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु। प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु।
