अमेरिकामा दुर्घटना : २ जना नेपाली विद्यार्थीको मृत्यु
विराटनगर। अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी ज्यान गएको छ। विश्वविद्यालयका अधिकारीहरूका अनुसार दुर्घटनामा परी दुई जना अन्य विद्यार्थी गम्भीर घाइते भएका छन्।
जुलाई १३, २०२५ को राति करिब ९ बजे लुइजियाना राज्यको हाइवे ८० मा भएको एकल सवारी दुर्घटनामा २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको ज्यान गएको हो। दुबै नेपालका नागरिक भएको जनाइएको छ। उनीहरूको नेपालको ठेगाना भने खुलाइएको छैन।
लुइजियाना स्टेट पुलिस टुप एफका अनुसार, रजन यादवले चलाएको २०१० मोडेलको होंडा एकोर्ड कार भारी वर्षाका बीचमा पूर्वतर्फ गइरहेको थियो। तर हाल अनुसन्धानको क्रममा रहेको कारणले गाडी सडकको दाहिने किनारतर्फ गइ रुखमा ठोक्कियो र त्यसपछि आगलागी भयो।
दुर्घटनास्थलमै यादव र ओलीको मृत्यु भएको पुष्टि गरिएको छ। गाडीमा सवार अन्य दुई जना विद्यार्थी घाइते भएका छन् र उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको अवस्थाबारे थप विवरण दिइएको छैन।
दुर्घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान जारी रहेको र रुटिन रगत परीक्षणका लागि नमुना संकलन गरिएको प्रहरी को भनाइ उधृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएको छ।
विश्वविद्यालयका अध्यक्ष डा. जिम हेण्डरसनले जुलाई १४ मा एक वक्तव्य जारी गर्दै यस्तो दुःखद घटनाले सम्पूर्ण विश्वविद्यालय परिवार शोकाकुल भएको जनाएका छन्। उनका अनुसार घाइते विद्यार्थीहरू हाल अस्पतालमा उपचाररत छन्।
‘शोकको सामना एक्लै गर्नु गाह्रो हुन्छ,’ उनले स्थानीय सञ्चार माध्यमलाई भनेका छन्, ‘विद्यार्थीहरूका लागि काउन्सेलिङ सेवा खुल्लै छ। कीनी हल ३३७ मा वाक–इन सेवा उपलब्ध छ भने ३१८–२५७(२४८८ नम्बरमा फोन गरेर समय लिन सकिन्छ।’
उनले अन्तर्राष्ट्रिय विद्यार्थी समुदायलाई साथ र सहयोग पुर्याउन अन्तर्राष्ट्रिय मामिला कार्यालयले स्मृति कार्यक्रमको तयारी गरिरहेको जानकारी दिएका छन्।
