प्रधानमन्त्री ओलीको दाबीः ‘चतरामा तीन हजार वर्षअघि शल्यक्रिया’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चिकित्सा इतिहास विश्वमै सबैभन्दा पुरानो रहेको दाबी गरेका छन्। उनका अनुसार करिब तीन हजार वर्षअघि नै नेपालका ऋषिले चतरामा शल्यक्रिया गरेका थिए।

त्रिवि शिक्षण अस्पतालमा सोमबार आयोजित विस्तारित सेवा भवन उद्घाटन कार्यक्रममा ओलीले भने, ‘हिप्पोक्रेटस भन्दा ६ सय वर्ष अघिनै हाम्रो भूभागमा सर्जरी विकास भइसकेको थियो।’

प्रधानमन्त्री ओलीका अनुसार ऋषि विश्वामित्रका छोरा सुश्रुतले चतरामै शल्यक्रियाको अभ्यास गरेका थिए। उनले भने, ‘खेल्दाखेल्दै एक जना साथीको औंलो काटिएपछि सुश्रुतले त्यो औंलो फेरि जडान गरेका थिए। त्यही दृष्टान्त शल्यक्रियाको प्रारम्भ मानिन्छ।’

सुश्रुतपछिका दिनमा जनसंख्या कम भएकोले उनी भारतको बनारस गएर सर्जरीको अभ्यास अगाडि बढाएको ओलीले उल्लेख गरे। ‘मानव जातिको सेवा गर्ने उद्देश्यले उनी जहाँ गए पनि चिकित्साशास्त्र फैलाए,’ उनले भने।

प्रधानमन्त्रीले चिकित्सा विज्ञानका आरम्भकर्ता चरक र पाणिनी पनि यही भूभागका भएको बताए। ‘चरकलाई आयुर्वेदको जनक मानिन्छ। पाणिनी पनि चरकका सन्तान भनिन्छ, र उनीहरू अर्घाखाँचीका थिए,’ ओलीले भने।

ओलीले त्रेतायुगकै समयमा लक्ष्मण बेहोस हुँदा हनुमानले संजीवनी ल्याएर उपचार गरेको उदाहरण दिँदै स्वास्थ्य विज्ञानको अभ्यास नेपालमा हजारौं वर्षअघिदेखि रहेको दाबी गरे।

अहिले भने नेपाल चिकित्सा विज्ञानमा पछि परेको उनले टिप्पणी गरे। ‘त्यति पुरानो ज्ञान र अभ्यास भएको मुलुक अहिले किन पछि पर्यो? अब फेरि अग्रसर हुनुपर्ने बेला आएको छ,’ प्रधानमन्त्रीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *