शिक्षक-कर्मचारीद्वारा अध्ययन बिदा दुरुपयोग : ब्याजसहित तलबभत्ता फिर्ता माग

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक तथा कर्मचारीहरूबाट तलबभत्ता ब्याजसहित फिर्ता माग गरेको छ। सोमबार सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र रकम बुझाउन निर्देशन दिएको हो।

त्रिविका विभिन्न क्याम्पस, विभाग र कार्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीले स्नातक, स्नातकोत्तर वा विद्यावारिधि अध्ययनका लागि बिदा लिँदा त्यस अवधिभर त्रिविमा सेवा गर्ने अनिवार्य व्यवस्था छ। तर अध्ययन बिदाको नाममा विदेश गएर फर्किन नचाहने वा अध्ययन नै नसिध्याउनेहरू बढेपछि त्रिविले फिर्ता असुलीको प्रक्रिया सुरु गरेको हो।

यही क्रममा त्रिविले आफ्नो बैंक खाता सार्वजनिक गर्दै त्यही खातामा रकम जम्मा गरी लिखित जानकारी दिन अनुरोध गरेको छ।

दुरुपयोगबारे समाचार सार्वजनिक भएपछि त्रिविले छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार करीब ४ सय प्राध्यापक बिदा लिएर अध्ययन नगरी वा फर्किनै नखोजी त्रिविमा सेवा नपुगेको पाइएको छ।

प्रारम्भिक अनुमानमा यस्तो दुरुपयोगबाट २ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। उक्त रकम त्रिविको निवृत्तिभरण कोषमा राखिने व्यवस्था त्रिविले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सार्वजनिक गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *