सुनसरीमा १७ वर्षीया किशोरीको गोली हानी हत्या
घटनास्थलमा प्रहरी र स्थानीय।
विराटनगर। सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा १७ वर्षीया किशोरी अर्सी खातुनको गोली हानी हत्या गरिएको छ। हत्या सोमबार बिहान करिब १ बजे घरमै भएको हो।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार किशोरीको टाउकोमा गोली हानिएको थियो। हत्यामा उनीकै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतको पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ घर भएका २९ वर्षीय आजात मिया जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रहरीको भनाइ छ।
गोली प्रहारपछि मिया फरार छन्। उनलाई पक्राउ गर्न सीमा क्षेत्रमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट एक राउन्ड गोलीको खोका बरामद गरिएको छ।
घटना भारतीय सीमासँगै जोडिएको क्षेत्र भएकाले अनुसन्धानमा नेपाल र भारत दुबै पक्षका सुरक्षाकर्मी सक्रिय छन्।
प्रतिक्रिया
