‘जसुदा स्मृति पुरस्कार’ पाण्डेलाई

इलाम। आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा इलाममा आयोजित विशेष समारोहमा पत्रकार सविता पाण्डेलाई ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिएको छ।

इलाम नगरपालिका साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा दोसल्ला, सम्मानपत्र र नगद राशिसहित पाण्डेलाई सम्मान गरिएको हो। पुरस्कार ‘जसुदा स्मृति प्रतिष्ठान’ ले स्थापना गरेको हो।

समारोह इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा र प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा साहित्यकार तथा जसुदा स्मृति प्रतिष्ठानका संयोजक विमल वैद्यले इलामकी चेली तथा साहित्य र पत्रकारितामा सक्रिय स्व. जसुदा खाकीको योगदानबारे चर्चा गरे। उनका अनुसार खाकीले इलाम र काठमाडौं दुबै स्थानमा रही साहित्य र पत्रकारितामा सक्रिय भूमिका खेलेकी थिइन्।

पत्रकार पुष्पराज प्रधानसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि खाकीले काठमाडौंमा ‘युवा आवाज’, ‘संरचना साप्ताहिक’ र ‘पिपुल्स रिभ्यु’ मा काम गर्दै पत्रकार महासंघको केन्द्रिय सदस्यसम्म बनेकी थिइन्।

समाज रूपान्तरणमा योगदान दिने चाहना राखेकी खाकीको असामयिक निधनपछि उनको स्मृतिमा परिवारको पहलमा उक्त पुरस्कार स्थापना गरिएको हो।

यसअघि यस पुरस्कारबाट कवि अन्वेश थुलुङ, बालिका थपलिया, पत्रकार सोम सुसेली, पत्रकार चन्द्र भण्डारी, विजय वान्तवा कैलासी, देवेन्द्र सक्तेन र सुन्दर कुरुपलाई पुरस्कृत गरिएको छ।

कार्यक्रममा इलाम नगरपालिकाका पहिलो अध्यक्ष पदमबहादुर देवानको जीवन र योगदान समेटिएको स्मृति ग्रन्थ ‘बहुआयामिक व्यक्तित्व पदमबहादुर देवान’ विमोचन गरिएको थियो।

त्यस अवसरमा डा. देवी क्षेत्री दुलालले आदिकवि भानुभक्त आचार्यको योगदानबारे चर्चा गरे भने महेन्द्र रत्न क्याम्पस इलामका पूर्वक्याम्पस प्रमुख युद्धप्रसाद वैद्यले पदमबहादुर देवानको योगदानबारे बोलेका थिए।

त्यसैगरी प्रतिष्ठानद्वारा स्थापित अर्काे पुरस्कारबाट साहित्यकार शिव अधिकारी (इलामे जेठो) लाई सम्मान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *