विज्ञानदेखि कानुनसम्म निःशुल्क पढाइ, छात्रावास सुविधा पनि
ताप्लेजुङ। सिरिजंगा गाउँपालिका–१ मा रहेको सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयहरू निःशुल्क पढाउने भएको छ। साथै छात्र–छात्राका लागि निःशुल्क छात्रावासको व्यवस्था पनि गरिएको छ।
प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार, विद्यालयमा १०० छात्र र १०० छात्राका लागि छुट्टाछुट्टै निःशुल्क आवासीय सुविधा छ। हिमाली छात्रबासका नाममा संघीय सरकारले २० जनालाई शैक्षिक र भोजन खर्चमा सहयोग गर्दै आएको छ। बाँकीले पढाइ र बसाइ निःशुल्क पाए पनि खाने खर्च भने आफ्नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।
विद्यालयमा सिभिल इन्जिनियरिङ (डिप्लोमा र १८ महिने) तथा कृषि (जेटीए) जस्ता प्राविधिक विषयहरू पनि पढाइन्छ। यी कोर्षका लागि पनि शुल्क अत्यन्तै कम छ। सिभिल र आईएससीएजीका लागि प्रति सेमेस्टर १२ हजार ५०० रुपैयाँ र जेटीएका लागि १५ हजार ००० रुपैयाँ मात्रै लिइन्छ।
विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका दरबन्दीअनुसारका शिक्षक, साथै प्राविधिक शिक्षक पनि स्थायी रूपमा छन्। यही कारण विद्यालयले निःशुल्क शिक्षाको मोडेल स्थापना गर्न सकेको हो।
संघीय सरकारले विद्यालयलाई नमुना विद्यालय घोषणा गरिसकेको छ। भवन, पुस्तकालय, उपकरणलगायतमा संघीय सरकार तथा भारतीय दूतावास र गाउँपालिकाले सहयोग गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सांसद उर्मिला थेवे हुन् भने प्रधानाध्यापक गौतम नेपाल शिक्षक संगठनको कोशी प्रदेश अध्यक्ष पनि हुन्।
विद्यालयमा अहिले ओखलढुंगा बाहेक कोशी प्रदेशका सबै जिल्ला, मधेश प्रदेश र भारतको सिक्किमसम्मका विद्यार्थी भर्ना भएका छन्।
यसअघि छात्रावास नहुँदा गाउँलेहरूले विद्यार्थीलाई निःशुल्क कोठा दिने परम्परा कायम गरेका थिए, जुन सामूहिक निर्णयबाट गरिएको थियो। यो विद्यालय दुर्गमको उत्कृष्ट शैक्षिक नमुना बनेको छ।
