संसदमा आरोप-प्रत्यारोप बढी, मूल जिम्मेवारी ओझेलमा : नेम्वाङ
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक बहसको अभावले सांसदको मूल जिम्मेवारी छायाँमा परेको बताएका छन्। बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदको धेरै समय आरोप-प्रत्यारोप, गालीगलौज र असंसदीय व्यवहारमै खर्चिएको भन्दै चिन्ता व्यक्त गरे।
‘स्वच्छ र रचनात्मक बहस लोकतन्त्रका लागि आवश्यक हो,’ उनले भने, ‘तर हामी असम्बन्धित विषयमा अल्झिँदा जनताका समस्या ओझेलमा परिरहेका छन्।’
उनले संसदको ध्यान शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए। नीति नियमलाई प्रभावकारी बनाउँदै जनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिलाउनुपर्ने सांसद नेम्वाङको भनाइ थियो।
संसदबाटै सुधारको सुरुवात हुनुपर्ने बताउँदै उनले तथ्यहीन बोल्ने सांसदमाथि कारबाहीको व्यवस्था गर्नुपर्ने सुझावसमेत दिए। साथै, उनले सांसदहरूले उठाएका प्रश्नको समयमा जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराए।
