प्राकृतिक चिकित्साको क्षेत्रमा जागरण ल्याउँदै पतञ्जलि योगपीठ
काठमाडौं । वैदिक परम्परा, योगशास्त्र र आयुर्वेद विज्ञानलाई पुनर्जीवित गर्दै जनजीवनमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यले स्थापना गरिएको पतञ्जलि योगपीठ नेपाल अहिले अनुकरणीय सेवामूलक संस्थाका रूपमा उदाएको छ।
झण्डै दुई दशकदेखि नेपालभरि स्वास्थ्य, शिक्षा, प्राकृतिक चिकित्सा, योग जागरण, नशामुक्ति, आत्मनिर्भरता, समाजसेवा र जडीबुटी संरक्षण लगायतका क्षेत्रमा सक्रिय रहँदै आएको संस्थाले आज देशभरि चेतना, संस्कार र सेवा विस्तार गरिरहेको छ।
‘व्यापार होइन, सेवा’ : आचार्य बालकृष्णले नेपाल आफ्ना पुर्खाको मातृभूमि भएको उल्लेख गर्दै भनेका छन्, “म यहाँ व्यापार गर्न आएको होइन, सेवा गर्न आएको हुँ।” उनका अनुसार नेपाल ‘देवभूमि’ भएकोले यसको पूजा गर्नु आफ्नो कर्तव्य हो।
पतञ्जलिले ७७ वटै जिल्लामा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएको छ। नियमित रूपमा सञ्चालन हुने कक्षाले हजारौं नेपालीको जीवनशैलीमा सुधार ल्याएको संस्थाको दाबी छ। काभ्रेको धुलिखेलमा स्थापना गरिएको आधुनिक उपकरणयुक्त प्राकृतिक तथा आयुर्वेद चिकित्सालय पनि संस्थाको प्रमुख उपलब्धि मानिन्छ। माटो, जल, जडिबुटीजस्ता प्राकृतिक साधनको प्रयोगमा आधारित उपचारप्रणालीले उच्च रक्तचाप, मधुमेह, तनाव, अनिद्राजस्ता रोगमा उल्लेख्य सुधार देखिएको अस्पताल व्यवस्थापक विश्वराज कोइरालाले बताए।
योग चेतना : योगगुरु बाबा रामदेव स्वयं नेपाल आएर सञ्चालन गरेका विशाल योग विज्ञान शिविरहरू ले राष्ट्रियस्तरमै चेतना फैलाएको छ। पतञ्जलिले देशभर करिब १० लाख योग प्रशिक्षकहरूलाई तालिम दिई ७७ वटै जिल्लामा परिचालन गरेको संस्थाका प्रवक्ता युवराज खनाल बताउँछन्।
शिक्षा, अनुसन्धान र चिकित्सक उत्पादन: धुलिखेलमा रहेको पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर नेपालकै एक मात्र BAMS स्नातक तहको निजी संस्था हो। यहाँ आधुनिक प्रविधिसँगै वैदिक शिक्षा पनि समावेश गरिएको छ। स्नातकपछि मास्टर्स र पीएचडी तहसम्म विस्तार गर्ने योजना छ। यस संस्थाबाट पास भएका चिकित्सकहरूले नेपाल तथा भारतमा विशेषज्ञ तालिम लिएर समाजमा सेवा पुर्याइरहेका छन्।
भूकम्प राहत र मानवीय सहकार्य: २०७२ सालको भूकम्पपछिको संकटमा पतञ्जलिले २०० भन्दा बढी ट्रक राहत सामग्री नेपाल ल्याएको थियो। ९० हजार स्वयंसेवक परिचालन गरेर त्रिपाल, औषधी, खाद्यान्न, टेन्टदेखि निःशुल्क भण्डारा सञ्चालनसम्मको अभियानले हजारौंलाई राहत मिलेको थियो।
त्यसबेलै स्वामी रामदेव र आचार्य बालकृष्ण नेपालमै थिए र उनीहरूले रक्तदानसमेत गरेका थिए। भूकम्पपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्दा रामदेव र आचार्य बालकृष्णले खुला विरोध गरे। नेपालप्रति देखाएको भावनात्मक समर्थनका कारण उनीहरूलाई भारतीय मिडियाबाट आलोचना पनि खेप्नुपरेको थियो।
अनाथ र विपन्न बालबालिकाको संरक्षण: २०७२ को भूकम्पपछि आमा-बुबा गुमाएका करिब २०० अनाथ बालबालिकालाई पतञ्जलिले संरक्षणमा लिएको छ। उनीहरूलाई आवास, शिक्षा, संस्कार, योग, आत्मनिर्भर सीप प्रदान गरिंदै आएको छ। धेरैजना अहिले उच्च शिक्षामा छन्।
जडीबुटी उद्योग र आयुर्वेद उत्पादन : रुपन्देहीको छिपागढमा १२० करोड रुपैयाँ लगानीमा आयुर्वेद औषधि उद्योग स्थापना हुँदैछ। ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको उद्योग नेपालकै ठूलो बन्ने अनुमान गरिएको छ। हाल पनि पतञ्जलि नेपालले साबुन, तेल, चूर्ण, औषधिजन्य खाद्यपदार्थ उत्पादन गर्दै आएको छ।
समाजसेवा र नशामुक्ति अभियान: ‘स्वस्थ नेपाल, सुखी नेपाल’ नाराका साथ पतञ्जलिले नशामुक्ति, वृक्षारोपण, रक्तदान, सरसफाइ, महिला सशक्तिकरण, वृद्ध नागरिकका लागि आरोग्य शिविरजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
स्वदेशी उत्पादन प्रवर्द्धन: ‘स्वदेशी अपनाऔं, आत्मनिर्भर बनौं’ भन्ने नारालाई आत्मसात गर्दै पतञ्जलिले हजारौं नेपालीलाई योग, आयुर्वेद र उत्पादन आधारित स्वरोजगारमा जोडेको छ।
