बाढीमा बेपत्ता हुने अधिकांश मजदुर (नामावलीसहित)
काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीको बाढीले १८ जना बेपत्ता भएका छन् । तीमध्ये ३ जना सुरक्षाकर्मीसहित अधिकांश नेपाली मजदुर रहेको जनाइएको छ ।
नेपाल प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत असई लालबहादुर श्रेष्ठ, जवान मुन्न ठाकुर र लोकेन्द्र बोहोरा बाढीमा बेपत्ता भएका हुन् ।
बेपत्ता अन्य नेपालीहरूमा बर्दियाका जीपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।
यसैगरी, बाढीले ६ जना चिनियाँ नागरिकलाई पनि बगाएको पुष्टि भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले अहिलेसम्म ९ जनालाई जीवितै उद्धार गरेको छ ।
चीनतर्फ भएको उच्च वर्षासँगै आएको बाढीले नेपाल–चीन मितेरी पुल, टिमुरे भन्सार, निर्माणाधीन सुख्खा बन्दरगाह र रसुवागढी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ।
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार रसुवागढी सुख्खा बन्दरगाह क्षेत्रमा रहेका सयभन्दा बढी मालवाहक गाडी बाढीले बगाएको प्रारम्भिक अनुमान छ। यार्डमा २३० सवारीसाधन पार्किङ गरिएकोमा केही मात्रातर्फ सारिएको र बाँकी धेरै गाडी बगाएको भनिएको छ।
बाढीले भन्सार परिसरमै राखिएका ७ वटा विद्युतीय गाडी पनि बगाएको छ। केही गाडीहरू बगाएर तल पुर्याएको अवस्थामा भेटिएका छन्।
हाल सुरक्षाकर्मीहरूको टोली प्रभावित क्षेत्रमा उद्धार र खोज कार्यमा खटिएको छ। मौसम अझै प्रतिकूल रहेकाले थप जोखिमको सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ।
