जल्दै गरेको चिता बाढीले बगाएपछि… (हेर्नुहोस् भिडियो)

काठमाडौं । त्रिशूली नदी किनारमा अन्त्येष्टि गर्दै गर्दा बाढीले चिता बगाएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकैबाट मंगलबार बिहान जल्दै गरेको चिता बाढीले बगाएको हो ।

स्थानीयका अनुसार उक्त गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाका आफन्तको बिहान ५ बजे निधन भएको थियो । पार्थिव शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गर्न लगिएको थियो । चितामा दागबत्ती दिएपछि जलिरहेको थियो । बिहान साढे ९ बजेतिर त्रिशूलीमा बाढी आएपछि चिता बगाएको हो ।

चितामा शव जलिरहेको थियो । शव जलिसक्न केही समय बाँकी छँदै अचानक बाढी आएर बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । जलेर सकिन लागेको शवको अवशेषसहित चिता बगेपछि मलामीहरु चकित बनेका थिए ।

सोमबार राति आएको बाढीले रसुवागढी हाइड्रोपावर, भन्सारसहितका स्थानमा निकै क्षति गरेको छ । कतिपय गाडी बगेका छन् भने पुलसहित धेरै संरचनामा क्षति पुगेको छ । त्यही बाढीको प्रभावले त्रिशूली नदीमा पनि बाढी आएको हो ।

पालिकाले बाढी आएका क्षेत्र आसपास जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

अघिल्लो वर्ष इलामको पुवाखोलामा पनि यस्तै घटना भएको थियो । उक्त घटनामा चिता जल्न सुरु गर्दागर्दै बाढीले बगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *