साउनका लागि पशुपतिनाथमा महाशिवरात्रिकै जस्तो तयारी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी एवं कार्य समिति सदस्यहरुसँगको अन्तरक्रियामा उहाँले साउनदेखि नै पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकार एवं सञ्चारकर्मीका लागि ‘मिडिया सेन्टर’ को सुरुआत गरिने प्रतिबद्धता जनाए ।

साउनको सोमबार र शनिबार, हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष वैशाख १ गते, अक्षया तृतीयालगायत पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । त्यसबेला पशुपति क्षेत्रबाट समाचार सङ्कलनमा समस्या हुने गरेको छ । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र एवं राष्ट्रदेवका रुपमा रहेको पशुपति क्षेत्रलाई थप व्यवस्थित बनाउन यसो गर्न लागिएको हो । (रासस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *