एसिशन कपको निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । एएफसी महिला एशियन कप-२०२६ को छनोटअन्तर्गत नेपालले आज शनिबार उज्वेकिस्तानसँग निर्णायक खेल खेल्दैछ । उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार खेल राति सवा ९ बजे शुरु हुनेछ ।

समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलमा छ अङ्कसहित तालिकाको दोस्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ । आज हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो ।

यस्तै, उज्वेकिस्तानले पनि आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो । दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् ।

यदि आजको खेलमा अङ्क र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सिधै पेनाल्टी सुटआउट हुनेछ । महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *