नेपालले श्रीलंकालाई ८-० गोलले हरायो, साम्बाको ह्याट्रिक

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई हराएको छ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ कोे ह्याट्रिक सहित नेपालले श्रीलंकालाई ८–० गोलले हराएको हो ।

तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १–१ गोल गरे । नेपालले दुवै हाफमा ४–४ गोल गर्यो । ।

डिफेण्डर गीताले सातौं मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले २०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । सावित्राले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

दोस्रो हाफको ५४औं मिनेटमा गीताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् भने ६२औं मिनेटमा निशाले हेडर गोल गरेपछि नेपाल ६–० को अवस्थामा रह्यो । ७८औं मिनेटमा रेखा पौडेलले हेडर गोल गरिन् । ८९औं मिनेटमा पुजा रानाले बक्समा डिफेन्डरले क्लियर नगरेको बललाई पोस्टको दिशा दिइन् ।

श्रीलंकाले एउटा फितलो प्रहार बाहेक कुनैपनि मौका बनाउन सकेन । नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम खेलमा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *