कानुनका विद्यार्थी लाइसेन्स परीक्षाबाट वञ्चित, शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल खुला विश्वविद्यालयबाट एलएलबी (कानुनमा स्नातक) उत्तीर्ण गरेका विद्यार्थी बार काउन्सिलको परीक्षामा सहभागी हुन पाउने कुरा अन्योलमा परेको छ । अधिवक्ताको लाइसेन्स लिन नपाउने अवस्था हुने बुझेपछि उनीहरुले सरकार गुहारेका छन् ।

काउन्सिल परीक्षामा सहभागी हुन फारम भर्ने म्याद तीन दिन बाँकी छँदा उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् । परीक्षा दिन पाउने वातवरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर उनीहरुले आग्रह गरेका हुन् ।

खुला विश्ववद्यालयको कुलपतिसमेत रहेका मन्त्री पन्तलाई भेटेर विद्यार्थीले ध्यानकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । जेठ २५ गते खुलाइएको परीक्षाको फाराम भर्ने म्याद २१ असारसम्म मात्र छ ।

अदालतले परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिए पनि काउन्सिलले पहिलो ब्याचका विद्यार्थीलाई मात्र सहभागी गराएर दोस्रो ब्याचका विद्यार्थीलाई वञ्चित गराउन खोजेको विद्यार्थीको गुनासो छ ।

खुला विश्वविद्यालयबाट २०८२ असारमा एलएलबीमा ३७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । खुला विश्वविद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीले लाइसेन्स परीक्षा दिन नपाउने गरी काउन्सिलले फाराम खुलाएको उनीहरूले गुनासो गरेका छन् ।

उनीहरूले अध्ययन गरेको खुला विश्वविद्यालयले पनि बार काउन्सिलले लाइसेन्स परीक्षा दिनबाट रोक लगाउन खोजेर अन्याय गरेको प्रतिक्रिया दिएको छ । नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ अनुसार स्थापित खुला विश्वविद्यालयमा २०७५ बाट एलएलबी कार्यक्रम सुरु भएको हो । २०७५ मा भर्ना भएका पहिलो ब्याचका विद्यार्थी २०७८ मा एलएलबी उत्तीर्ण भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *