१० वर्ष जेल सजाय, ४५ वर्ष भागे, ७६ पुग्दा पक्राउ

इलाम । ४५ वर्षअघि अदालतद्वारा ज्यान मुद्दामा सजाय सुनाइएका एक जना अभियुक्त पक्राउ परेका छन् । इलाम जिल्ला अदालतले २०३८ साल जेठ १२ गते उनलाई १० वर्ष कैद सजाय तोकेको थियो ।

इलामकै सन्दकपुर गाउँपालिका-५ का ७६ वर्षीय तीलबहादुर गुरुङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनी प्रहरीको फरार सूचीमा थिए । अदालतले सजाय सुनाउँदा उनी ३१ वर्षका थिए । ४५ वर्षसम्म भागेरै जोगिएका थिए ।

लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीले निगरानी गर्दै आएको थियो । गुरुङलाई जिल्ला प्रहरीको टोलीले सन्दकपुर-५ बाट पक्राउ गरेको हो ।

गुरुङले ४५ वर्षअघि इलामकै माबुका हर्कबहादुर राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका निमित्त प्रवक्ता इन्स्पेक्टर सञ्जीव बोगटीका अनुसार उनलाई अदालत उपस्थित गराएर जिल्ला कारागार इलाम पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *